वीरगंज,०८ मंसिर । पर्सा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ हुण्डी रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सा पकाहामैनपुर–१ का ३४ वर्षीय अवधेश पटेल रहेको जिल्ला प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा आइतबार चेकजाँचमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका पटेलले चलाएको बीआर–२२ए एफ–४१२६ नम्बरको मोटरसाइकल रोकाएर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा रहेको झोलाबाट ठूलो परिमाणमा नगद फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। उनका अनुसार बरामद रकम यसप्रकार छ ।
- हजार दरका नोट : ७९० थान
- पाँच सय दरका नोट : १३०१ थान
- सय दरका नोट : ५६९ थान
- पचास दरका नोट : ५० थान
कुल १५ लाख रुपैयाँ बरामद भएपछि रकमसहित मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार स्रोत नखुलेको रकम लिएर हिँडिरहेको पाइएपछि पटेललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।





