काठमाडौं,३१ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारीदाता कम्पनी बन्द भएपछि संकटमा परेका नेपाली श्रमिकको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै उनले साउदीको जुवेल सहरस्थित सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली कामदार अलपत्र परेका हुँदा तत्काल उद्धार र सहायता गर्न सरकारसँग आग्रह गरे।
उनका अनुसार, तीमध्ये २२६ जना नेपालीले स्वदेश फर्कने इच्छा व्यक्त गरिसकेका छन् र उनीहरूले त्यहाँको नेपाली दूतावासमार्फत सम्पर्क गरी नेपाल फर्कन चाहेको जानकारी गराएका छन्। बाँकी २४३ जनाले भने साउदीमै अन्य कम्पनीमार्फत रोजगारको अवसर मिलाइदिन अनुरोध गरेका छन्।
कम्पनी बन्द भएपछि दुईदेखि नौ महिनासम्मको तलबसमेत नपाएको उल्लेख गर्दै उनले कम्पनीको व्यवस्थापन पक्षलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाइएको जानकारी दिए।
‘रोजगार गुमाएका ती नेपालीहरू अहिले शिविरमा बसिरहेका छन्, खानाको अभाव छ, केही बिरामी छन् तर स्वास्थ्य उपचार समेत पाउन सकेका छैनन्’, सांसद बर्तौलाले भने, ‘भिसा बन्द भएकाले फर्कन चाहने नेपाली फर्कनसमेत सकेका छैनन्। यस्तो अवस्थामा सरकार तत्काल उद्धार र आवश्यक सहयोग गर्न अघि सर्नुपर्छ।’





