Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
24.1 C
Kathmandu

कर्मचारीलाई पेल्न खोजेपछि ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

spot_img

वीरगंज (पर्सा), १८ असोज । ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाको केन्द्रिय कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरिएको छ । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका कर्मचारीहरुले असोज १८ गतेदेखि केन्द्रिय कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गर्नुका साथै धर्ना दिएका छन् । विगत ५/६ महिनादेखि विवादमा पर्दै आएको ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाले विवाद समाधान गर्न नसकेपछि कर्मचारी संगठनका पदाधिकारीहरुले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभी (मर्जर) भई २०८०/११/३० गतेबाट ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय संस्था लिमिटेडको नामवाट एकीकृत कारोवार शुरु भएको ३ महिना नवित्दै विवादमा परेको थियो । एकिकृत कारोबार शुरु भएको ७ महिना वित्नै लाग्दा हालसम्म सन्तोषजनक कारोबार भने हुन सकेको छैन । जहिलेपनि सँस्था विवादमा पर्दै आएको छ । दुईवटा लघुवित्त सँस्था एक आपसमा गाभेसँगै दुबै सँस्थाका कर्मचारीहरुको संगठन दुई चिरामा बाँडिएका थिए । दुबै संगठनले आ-आफ्नो छुट्टाछुट्टै माग राखेर आन्दोलन गर्दै आएका थिए ।
शुरुमा नेरुडे पट्किा लघुवित्तका कर्मचारी संगठनले कर्मचारीहरुको हकहितको लागि आन्दोलनमा उत्रिएकोमा मिर्मिरे पट्टिका कर्मचारी संगठनले पनि एक्यबद्धता जनाई आफ्नो स्वार्थ पुरा फर्किएका थिए । तर नेरुडे पट्टिका कर्मचारीहरु अहिलेपनि आन्दोलनमै छन् । उनीहरुले सँस्थासँग आबद्ध कर्मचारीहरुको हकहितको लागि आन्दोलनका कार्यक्रमहरुलाई थप सशक्त बनाउँदै केन्द्रिय कार्यालयमा तालाबन्दी गर्नसम्म पुगेका छन् ।
सँस्थामा देखिएको समस्या समाधानको लागि ‘नेरुडे मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाले भदौ २० गते एक पत्र जारी गर्दै ‘बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरे’ लाई केन्द्रिय कार्यालयमा वार्ताको लागि बोलाएकोमा भदौ २८ देखि ३१ गतेसम्म लगातार ४ दिनसम्म चलेको वार्ता निष्कर्षविहीन टुँगियो । सँस्थाका व्यवस्थापन पक्षले हालसम्म वार्तालाई निष्कर्षमा पुर्‍याउन सकेन, बरु सँस्थाको आडमा कर्मचारीलाई पेल्ने काम गरे ।

सँस्थाले संगठनको मागलाई सम्बोधन नगरी व्यवस्थापन पक्षबाट अनिश्चत तथा निष्कर्षविहीन वार्ता टुंग्याएर समस्या समाधान नगरिएकोमा तालाबन्दी गरिएको बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका अध्यक्ष रामप्रसाद ढुँगानाले जानकारी दिए । उनका अनुसार संगठनले आफ्नो विभिन्न माग सहित विरोधका कार्यक्रमहरु गरि रहेको अवस्थामा सँस्थाले दोश्रो पटक असोज १६ गतेभित्र छलफल तथा अन्तरक्रियामा बस्ने वातावरण मिलाउने भनेपछि असोज ८ गतेदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको थियो ।

तर सँस्थाले असोज १६ गते पुनः अर्को पत्र जारी गर्दै संगठनका पदाधिकारीहरु छलफल तोकिएको स्थानमा प्रस्थान नगरी विरोधका कार्यक्रमहरु जारी नै राखेको हुँदा वित्तीय सँस्थाको व्यवसायिक कार्यसंचालनमा बाधा पुगेको भन्दै कारवाही गर्ने उर्दी नै जारी गर्यो । सँस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालद्वारा हस्ताक्षर गरि जारी गरिएको पत्रमा आन्दोलनरत संगठनका कर्मचारीहरुलाई कारवाही गर्ने उर्दी जारी गरेपछि संगठनले आन्दोलनलाई थप सशक्त बनाएको हो ।

संगठनले असोज १८ गते केन्द्रिय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी तथा धर्ना दिने, असोज २० देखि २२ गतेसम्म आधा दिन पेन डाउन गर्ने, असोज २३ गतेदेखि शाखा कार्यालयहरुमा ताल्चा बन्दी गरि कलष्टर तथा प्रदेश कार्यालयहरुमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो । तर सँस्थाले कर्मचारी संगठनको मागलाई सम्बोधन गर्नुको सट्टा काममा फर्किन उर्दी जारी गरेपछि संगठनले विरोधको कार्यक्रमलाई थप सशक्त बनाउँदै पेन डाउनको कार्यक्रमलाई स्थगित गर्दै तालाबन्दी एवं धर्ना कार्यक्रमलाई निरन्तरता दिएको हो ।
वार्ताको आयोजना नभएमा सामान्य तरिकाले आन्दोलन गरि दबाब दिने मनसायले संगठन विज्ञप्ती जारि गर्दा सँस्थाको केन्द्रिय कार्यालयले संगठनलाई धाक धम्की दिई आन्दोलन बिथोल्ने तथा संगठनको सहनशिलताको परकाष्ठा पार गर्न वाध्य बनाएको अध्यक्ष ढुँगानाको भनाई । सँस्थाले कर्मचारीहरुलाई दमन गर्ने, लिखित सम्झौताहरु कार्यन्वयन नगर्ने, कर्मचारीहरुलाई नोकर जस्तो व्यवहार गर्ने र सँस्थाको व्यवसायिक लक्ष्य तथा कर्मचारीहरुको भविष्य सुनिश्चित हुने कुरामा बाधा पुर्‍याउन उच्च व्यवस्थापन तत्पर देखिएकोले संगठनको पूर्व घोषित कार्यक्रमहरु परिमार्जन गरि थप आन्दोलनको कार्यक्रमहरु सुचारु गरिएको संगठनका महासचिव मुकेश प्रसाद यादवले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमहरु परिमार्जन गरि थप सशक्त बनाइएकोमा सो बाट संस्थालाई हुने क्षति तथा आन्दोलनको क्रममा हुन सक्ने सम्पूणर् अप्रिय घाटनाको जिम्मेवारी व्यवस्थापक स्वयम हुने संगठनको भनाई छ । संगठनले वार्ताको लागि पहल गरिदिनु हुन, आवश्यक सहयोग गर्न प्रदेश, कलष्टर तथा शाखा कार्यालयहरुलाई आग्रह समेत गरेको छ । त्यसको साथसाथै सँस्थामा देखिएको समस्यालाई समाधानको लागि आवश्यक पहल गर्न नेपाल राष्ट्र बैंक, श्रम तथा रोजगारको कार्यालय टेकु काठमाडौं तथा इलाका प्रहरी कार्यालय बनेपा-३ एवं प्रहरी प्रधान कार्यालय काठमाडौंलाई बोधार्थ पठाउँदै आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once