Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छ : ओली

spot_img

काठमाडौं,०२ असाेज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पारे।

ओलीले भने, ‘मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ। यतिबेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था, साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ। आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ। नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं। त्यो गम्भिर परिस्थिति छ। त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ। त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो।’

उनले धेरै ठूलो बलिदानीबाट देशमा अहिलेका अधिकार प्राप्त भएकाले गुम्न दिन नहुने बताए। त्यसका लागि प्रमुख दलहरु गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

उनले थपे, ‘प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन। जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ। जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन। प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन्। धेरैको क्षति भएको छ। धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं। यी आजको उपलब्धिहरु जे छन्। यी यतिकै होइन आकाशबाट आएका होइनन्। यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पुर्याएका छौं। यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन।’

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए।

उनले भने, ‘सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्यो, जसले संविधान निर्माणको अगुवाई गर्यो, उहाँ त हुनुहुन्न। अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु। उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ। सबैमा चेतना भया। तर नेकपा एमाले प्रतिवद्ध छ। यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्याई छोडन एमाले प्रतिवद्ध छ।’

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once