Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

अलौंको यज्ञमा दलितमाथि भएको विभेद बारे दलित आयोगको चासो

spot_img

वीरगञ्ज । वीरगञ्जको अलौमा सम्पन्न महायज्ञमा दलित समुदायलाई बस्न नदिएको घटना बारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । चैत ८ देखि १६ गतेसम्म चलेको महायज्ञमा दलितलाई समावेश नगराइएको विषयले देशव्यापी रुपमा चर्चा पाएपछि आयोगले चासो देखाएको हो ।

आइतवार वीरगञ्ज आएका आयोगका सदस्य टुन्ज वराइलीले जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि अलौका जनप्रतिनिधि एवम् स्थानीयसँग घटनाका बारेमा जानकारी लिएका छन् । कुनै पनि सार्वजनिक समारोहमा दलितलाई वञ्चित गराउनु संविधानको उलंघन गर्नु भएको बताउँदै वराइलीले यस घटनाको सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दबाब सृजनाका लागि वीरगञ्ज आएको बताए ।

उक्त घटनामा सुरक्षा निकायदेखि अन्य सरोकारवालाको भूमिकाका सम्बन्धमा उनले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, राष्ट्रिय अनुसन्धान पर्साका अधिकृत हेमन्त कुवँर लगायतसँग छलफल गरेका छन् ।

खुलेयाम रुपमा विभेद भएको भनेर अलौका दलित समुदायले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र दिएको बताउँदै प्रमुख जिल्ला अधिकारी रेग्मिले भने, ‘संविधानले नै विभेदजन्य गतिविधि गर्न वर्जित गरेको अवस्थामा स्थानीयले गर्न हुँदैन भनेर हामीले कानुनी आधार देखाउनुका साथै पटक पटक छलफल गरेर सहमती गराउने प्रयास ग¥यौँ । महायज्ञ हुनुभन्दा अघिल्लो दिन उहाँहरु आफै मिलेको भन्दै हामीलाई नै यज्ञमा बोलाउन निम्तो दिन आउनुभयो । हामीले केही गर्नै परेन ।’

आयोगका सदस्य वराइलीले आगामी दिनमा पनि जातकै आधारमा हुने विभेदजन्य घटनामा सहमती नगराई कानुनी प्रक्रियाका आधारमा कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । वराइलीले आइतवार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमै पुगेर त्याहाँका वडाअध्यक्ष सञ्जिव बहादुर क्षेत्री र स्थानीय दलित समुदायसँग पनि छलफल गरेका छन् ।

महायज्ञमा भएको यथार्थबारे जानकारी लिँदै वराइलीले समाजको परम्परागत संस्कारभन्दा पनि कानुनको पालना गर्न आग्रह गरे । साथै वराइलीले वडा कार्यालयबाट हरेक आर्थिक वर्षमा दलित समुदायकै लागि भनेर निश्चित बजेट बिनियोजन गर्न पनि वडाअध्यक्ष क्षेत्रीलाई अनुरोध गरेका छन् ।

जसमा क्षेत्रीले सकारात्मक संकेत दिँदै आफ्नो वडाका हरेक गतिविधिमा दलित समुदाय प्राथमिकतामा रहेको बताए । संविधानलाई नै टेकेर आफु वडाअध्यक्षमा निर्वाचित भएको हुँदा कानुनको अवज्ञा गर्न नसक्ने वडाअध्यक्ष क्षेत्रीको भनाई छ । उनकाअनुसार उक्त वडामा जातकै आधारमा कुनै पनि किसिमको विभेद छैन ।

समयक्रमसँगै सबै परिवर्तन हुने बताउँदै वडाअध्यक्ष क्षेत्रीले भने, ‘पहिला पहिला छोएको खाने समेत चलन थिएन, अहिले सबै सँगै बसेर खाने मात्रै हैन, महायज्ञमा पनि ८ दिनसम्म दलित समुदायले नै भण्डारा चलाएर सबै भक्तजनदेखि दर्शालुहरुलाई बिहान बेलुकाको खानाको समेत व्यवस्था गरे ।

त्यसैले एकैपटक असहज भएपनि विस्तारै सबै सुधार हुन्छ ।’ स्थानीय दलित अगुवा खुबलाल महरा भन्छन्, ‘जलयात्रा, कलश यात्रा देखि हवनसम्म पनि हामी सहभागी भयौँ, मात्रै बेदी (यज्ञस्थल) मा बस्न पाएनौ । तर अर्काे वर्षदेखि हुने महायज्ञमा त्यसमा पनि बस्न पाउने गरी सहमती भएको छ ।’

८ दिनसम्म चलेको महायज्ञमा दैनिक बिहान र बेलुका गरी कम्तिमा ५ सय जनासम्मको खानाको व्यवस्था दलित समुदायले नै गरेको महराले बताए । अर्काे वर्षदेखि हुने हरेक सामाजिक एवम् धार्मिक कार्यहरुमा दलित समुदायको पनि समान सहभागीता हुनेमा उनी विश्वस्त छन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारिणी सदस्य एवम् दलित अगुवा मानदेव हजरा, दलित अभियानता मेघराज पासवान लगायत उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once