वीरगंज । वीरगमा बाली उपचार शिविर सम्पन्न भएको छ ।वीरगन्ज महानगरपालिकाको आयोजनामा बुधबार वीरगन्ज २१ परवानीपुर स्थित खेलमैदानमा बाली उपचार शिविर सम्पन्न भएको हो ।
बुधबार बिहान १० देखि साँझ ५ बजे सम्म चलेको शिविरमा करिब १ सय ६० जना कृषकले विभिन्न बालीको समस्या लिएर आएको र जैविक विषादी लगायत रासायनिक विषादी तथा सुक्ष्म पोषक तत्वहरू र बिरुवा वृद्धि नियामकहरू उपलब्ध गराइएको वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् । कृषकहरूले शिविरमा आ–आफ्नो बाली नालीको डाँठ, पात, जरा (समस्या भएको भाग ) वा फोटो लिएर आए बमोजिम रोग र समस्या अनुसारको समाधान गरिएको कृषि अधिकृत श्रेष्ठले बताइन् ।
उनका अनुसार शिविरमा तरकारी र आँपमा धेरै समस्या भएको पाइएको थियो । कृषकहरूको समस्यालाई समाधान गर्न वीरगन्ज महानगरपालिकाले शिविरको आयोजना गरेको महानगरका मेयर राजेशमान सिंहले बताए । महानगरले आर्थिक वर्ष २०७९÷०८० को बार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरि बालीनालीमा लाग्ने रोगहरुका कारण कृषकलाई हुने समस्या समाधानका लागि पहल स्वरुप शिविरको आयोजना गरिएको मेयर सिंहले बताए ।
शिविरमा कृषि ज्ञान केन्द्र पर्साका समसुल हक मिया, वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठ,सलिना क्षेत्री लगायतको उपस्थिति थियो ।





