Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगंज महानगर

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिर लगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रूपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगंज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खोज्ने अभियानलाइ तीव्रता दिएको छ ।
महानगरको बिभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रूपमा उपभोग गर्नेजस्ता प्र्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाएको हो । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ । “महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्”, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “पहिलो चरणमा प्राविधिक टोलीले वडा नम्बर १७ र १९ मा जग्गा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेको छ ।”
“विगत दुई सातादेखि सुरु गरेको सार्वजनिक जग्गा खोज्ने अतिक्रमणका क्रममा अहिलेसम्म करिब २६ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगर आफ्नो अधिकनमा ल्याउन सफल भइसकेको छ”, उहाँले भन्नुभयोे, “हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौँ ।” सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको जनाएको छ । महानगरको टोलीले वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर खेतबारी गर्दै आएको पाँच बिघा जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको वीरगंज महानगरपालिकाका नगर प्रमुख सिंहको सचिवालयका हरि पोखरेलले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघाभन्दा बढी सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार सोही वडामा एकै दिन वीरगञ्ज महानगरपालिकाको टोलीले १६ बिघा अतिक्रमित सार्वजनिक जग्गा खोजी गरी महानगरको अधिकनमा नक्साङ्कन गरिएको छ । अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि वीरगञ्ज महानगरपालिकाको आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । पार्कको जग्गा अतिक्रमण गरी स्थानीयले निर्माण गरेको संरचना हटाउन महानगरले सूचना दिइसकेको र खाली नगरे डोजर चलाइने पोखरेलको भनाइ छ । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरी संरक्षण गरिने कार्यसमेत भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि वास्तविक तथ्याङ्क नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिरहेको उहाँको भनाइ छ । अतिक्रमित जग्गा खोजी अभियानलाई ३२ वटै वडामा सञ्चालन गरिने महानगरले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । वर्षांैदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै महानगरले अतिक्रमणमा परेको जग्गा फिर्ता गराउने अभियान सञ्चालन गरेर सकारात्मक सन्देश दिएको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once