वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धानले वीरगन्जको नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई सहित विभिन्न मेसिन निरीक्षण गर्दै छानबिनका लागि फाइल नियन्त्रणमा लिएको छ ।
बुधबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंबाट वीरगन्ज आएको टोलीले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआइ मेसिन निरीक्षण गर्नुका साथै सम्बन्धित फाइल लगेको छ । अस्पतालमा बिरामीको परीक्षण तथा उपचारका लागि खरिद गरिएको मेसिनरी सामानबारे परेको उजुरीका आधारमा छानबिन गर्न फाइल लिन अख्तियारको टोली आएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी दिए ।
उनले ईको, एक्सरे र पिएसटी मेसिनबारे अख्तियारले छानबिनका लागि फाइल मागको बताए । ‘अख्तियारको टोलीले अस्पतालमा खरिद भएको मेसिनबारे फाइल मागेको थियो, त्यही हामीले उपलब्ध गरायौँ,’ उनले भने । यसैबीच, अख्तियारकै टोलीले केही समयअघि मात्रै चीनबाट खरिद गरी ल्याइएको एमआरआई मेसिनसमेत निरीक्षण गरेको थियो । नारायणी अस्पतालमा अहिले एमआरआई मेसिन धमाधम जडान गर्ने कार्य भइरहेको छ । उक्त मेसिन १५ दिनअघि मात्रै अस्पतालमा आइपुुगेको हो ।





