Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

वीरगञ्जमा रात्रि सांस्कृतिक तथा खाना मेला

spot_img

वीरगंज, ४ फागुन । वीरगञ्जमा रात्रि सांस्कृतिक तथा खाना मेला आयोजना हुने भएको छ । वीरगञ्ज कलेजले १० औं वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १२ र १३ गते मेलाको आयोजना गर्न लागेको हो । घण्टाघरदेखि उत्तरतर्फ बी.पी. उद्यान छेउको फुटपाथमा अपरान्ह ३ बजेदेखि राति १० बजेसम्म मेला लाग्ने वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
विद्यार्थीमा ‘सिक्दै जाऔं कमाउँदै जाऔं’ भन्ने अवधारणाको विकास गर्न, वीरगञ्ज महानगरपालिकाले ल्याएको रात्रि बजारको अवधारणालाई सघाउन, नेपाल सरकारको स्टार्टअपको अवधारणालाई साकार पार्नुको साथै बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रवर्धन गर्न मेलाको आयोजना गर्न लागिएको उनले बताए । ‘डिग्री बाँडेर मात्रै हुँदैन, विद्यार्थीले कलेज जीवन पछि पनि केही गर्न सक्ने हुनुपर्छ’, उनले भने ‘स्टार्टअप मात्रै भन्दा विद्यार्थीले बुझ्दैनन् । भुजा पकौडी बेचेर पैसा कमाउन थालेपछि बल्ल जान्दछन् । त्यसैले विद्यार्थीले नै स्टल लगाउने गरी मेला लगाएका हौं ।’
मेलामा स्थानीय परिकार घोंगी, भुजा पकौडी लगायत २१ प्रकारका खाना तथा झिंझिया, माघी नाच लगायत सांस्कृतिक प्रदर्शनी राखिएको कलेजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला आयोजनाका लागि महानगरले २ लाख रुपैयाँ दिने तय भएको छ । भने अन्य खर्च कलेजको अतिरिक्त क्रियाकलाप कोष, प्रायोजक तथा सह प्रायोजकहरुबाट संकलन गरिने उनको भनाइ छ । मेलामा २५ वटा स्टल रहनेछन् । स्टलमा विद्यार्थी समूहले विभिन्न परिकारका स्वादिलो खाना बिक्री वितरणका लागि राख्ने छन् । त्यसबाट प्राप्त हुने आम्दानी विद्यार्थीको नै हुने कलेजले जनाएको छ । स्टलका लागि कलेजले विद्यार्थीसँग कुनै शुल्क नलिने क्याम्पस प्रमुख विनोद गुप्ताले जानकारी दिए ।
मेलामा स्वादिलो खानाका परिकारसँगै भोजपुरी प्रख्यात गायक सुनिल पण्डित, कलेजको विद्यार्थी तथा पूर्व विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहने कलेजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once