रौतहट, २७ माघ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मनोमानीको कारण रौतहटको वृन्दावन नगरपालिका भ्रष्टाचारको अखडा बनेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगर प्रमुख विनोद प्रसाद कुर्मी तथा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले भ्रष्टाचार गर्ने नियतका साथ मिलोमतो गरेर आफूखुसी नगरपालिका चलाएको उनीहरुको आरोप छ । उक्त विरोधमा निर्वाचित जनप्रतिनिधि तथा नगरप्रमुखका उम्मेदवारसहितको उपस्थितिमा स्थानीयले एक भेलाको आयोजना गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
आन्दोलनको पहिलो चरणमा नगरपालिका घेराउ , प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने , नगरपालिकाको हिसाब किताब तथा बैंक स्टेटमेन्ट माग्नेलगायतका कार्यक्रमहरु तय गरेको नेकपा एमालेका क्षेत्रीय संयोजक तथा नगर प्रमुखका उम्मेदवार प्रेमशंकर यादवले बताए । उनले नगर प्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत भुजेल मिलेर वृन्दावन नगरपालिकामा खुलेयाम भ्रष्टाचार गरिरहेकाले त्यसलाई रोक्न आफुहरु आन्दोलनमा उत्रिएको बताए ।
उनले नगरपालिकाले इन्धनमा मात्र मासिक १२ लाखसम्म खर्च गर्ने गरेको, शिक्षा, स्वास्थ्यका विभिन्न शिर्षकमा कमिसन माग्ने गरेको, करारका कर्मचारी हटाएर डोर हाजीरीमा कर्मचारी राखेर उनीहरुले पाउने तलबमा घोटला गरेको, नदिहरु टेन्डर नलगाइ अमानतमा लगाएर मनोमानी ढंगले पैसा असुल गरेर आफ्नो खल्तीमा हालेको लगायतका आरोप लगाउँदै आफुहरु वृन्दावन नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा आफुहरु लागेको बताए । पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामस्नेही यादवले प्रशासकीय अधिकृत भुजेलले भ्रष्ट्रचार गर्ने नियतनै दर्ता चलानी नगरपालिकाको कार्यालयमा नराखेर आफ्नो झोलामा बोकेर हिड्ने गरेको, विभिन्न कर्मचारीको नाममा पेश्की निकालेर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले सरकारी रकम व्यक्तिगत रुपमा अपचलन गर्ने गरेको आरोप लगाउँदै नगर प्रमुख कुर्मीको ९ महिनाको कार्याकालमा केहीँ नयाँ योजना नआएको मात्र भ्रष्टाचार गरेर, कमिसन खाएर चुनाव खर्च उठाउन लागिपरेको दावी गरे ।
यादवले नगर प्रमुख भएपछि कुर्मीले आफुलाई राजा अरुलाई रैति सम्झेर दादागिरी शैलीमा काम गर्दै आइरहेकाले उनको मनपरितन्त्र विरुद्ध आफुहरु एकजुट भएर आन्दोलनमा उत्रिएको बताए । नेकपा माओवादी (केन्द्र) केन्द्रका नेता तथा नगरप्रमुखका उम्मेदवार राम प्रसाद पटेलले नगर प्रमुख कुर्मीले राजनिती पूर्वग्राही राखेर नगरपालिका संचालन गर्दै वृन्दावन नगरपालिकालाई भ्रष्ट्रचारको अखडामा परिणत गरेकाले नेकपा एमाले , नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी मिलेर संयुक्त रुपमा स्थानियको सहभागितामा आन्दोलनको सुरुवात गरेको जनाउँदै आफुहरुको माग प्रति नगरप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत संवेदनशील नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
यस सम्बन्धमा नगर प्रमुख कुर्मीसँग संचारकर्मीले प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । प्रतिक्रिया लिन नगरपालिका पुगेका संचारकर्मीलाई कार्यालय भित्र छिर्न नदिन भन्दै उनले मुल गेटमा ताला लगाउन कर्मचारीलाई निर्देशन दिएका थिए । आफुहरुलाई गेटको ताला खोलेर भित्र जान दिन संचारकर्मीले गरेको अनुरोधलाई लत्याउँदै नगर प्रमुख कुर्मीले आफ्ना कर्मचारीलाई कुनैपनि हालतमा भित्र गेटको ताला नखोल्न र संंचारकर्मीलाई भित्र छिर्न नदिन ठाडो उर्दी जारी गरेको संचारकर्मी अशोक पहाडीले बताए । उनले नगरप्रमुख कुर्मीमाथि लागेको आरोपहरु बारेमा प्रतिक्रिया लिन जाँदा संचारकर्मीलाई गेटमै रोक्नु प्रेस स्वतन्त्रताको हनन भएको भन्दै संचारकर्मीबाट भाग्ने नगरप्रमुखको नियतमाथि प्रश्न चिन्ह खडा भएको बताए ।





