काठमाडौँ, २३ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध चयन भएकी छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । उक्त पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताए । उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए ।
प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहेकी सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए । उनले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राखे । यसअघि नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने कुरा थियो । तर अन्तिममा उसले माओवादीकै उम्मेदवारलाई समर्थन गर्ने भनेपछि अर्याल निर्विरोध भएकी हुन् । यसअघि राष्ट्रिय सभा उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएपछि उक्त पद रिक्त थियो ।
नवनिर्वाचित ६६ वर्षीया उपाध्यक्ष अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मेकी अर्यालकाे हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल हाल माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् । उनले पूर्व-स्थानीय विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
समाजशास्त्रमा स्तातकोत्तर अर्याल हाल विद्यावारिधिको शोधार्थी पनि हुन् । उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गरेकी छन् ।





