काठमाडौं,२९ असोज । बडादशैंको पाँचौँ दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गर्दैछन्। ज्ञान, शक्ति र ममताकी प्रतीकका रूपमा पूजिने स्कन्दमाताको आराधना गर्नाले सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
भगवान् कार्तिकेय अर्थात् स्कन्दकुमारलाई काखमा धारण गर्ने देवी भएकाले उहाँलाई स्कन्दमाता भनिएको धार्मिक मान्यता छ। कमलको फूल र वरमुद्रा धारण गरी सिंहमा विराजमान हुने स्कन्दमाताको स्वरूप तेजस्वी रहेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ। यस दिन भक्तजनले बिहानै स्नान गरी पूजास्थल शुद्धीकरण गरेर देवीको प्रतिमा स्थापना गर्ने परम्परा छ। त्यसपछि वैदिक मन्त्रद्वारा पूजा गर्दै धूप, दीप, फूल तथा नैवेद्य अर्पण गरिन्छ। पूजापछि आरती गरी प्रसाद ग्रहण गर्ने चलन पनि रहिआएको छ।
नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा गर्नाले भक्तजनको मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति कायम हुने तथा सन्तानको कल्याण हुने धार्मिक विश्वास गरिन्छ। बडादशैंको यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनले श्रद्धापूर्वक पूजा–आराधना गर्ने परम्परा छ। नवदुर्गाको उपासनाअन्तर्गत प्रत्येक दिन फरक–फरक देवीको पूजा गरिने भएकाले बडादशैंको धार्मिक महत्त्व विशेष मानिन्छ।




