चितवन,२४ असोज । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी तथा यात्रुवाहक बस अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बसपार्कअगाडिको मुख्य सडकमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन् ।
बडादसैँ नजिकिँदै गर्दा चामललगायत अत्यावश्यक खाद्य सामग्री बोकेका मालवाहक गाडी लामो समयदेखि बाटोमै रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि भरतपुरको मुख्य सडकमा मालवाहक गाडीको लामो लस्कर लागेको छ । यसले खाद्यान्न समयमै गन्तव्यमा पुर्याउन समस्या भएको छ भने चालक तथा सहचालकले समेत विभिन्न सास्ती भोग्नुपरेको छ । शुक्रबार रातिदेखि रोकिएका चालक विशाल राजपुतका अनुसार राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानी प्रभावित भएको छ । गन्तव्यमा पुग्ने बाटो बन्द भएपछि चालक तथा सहचालकहरू सडकछेउमै चुल्हो बालेर खाना पकाउने र रात बिताउने गरिरहेका छन् ।
‘हामीलाई दसैँ र चाडपर्व भनेको केही हुँदैन । यसरी बाटोमा अलपत्र पर्दा महँगो खर्च, खानेकुराको जोहो र सार्वजनिक शौचालयको अभावले सबैभन्दा ठूलो सास्ती हुन्छ,’ राजपुतले भने । उनका अनुसार अलपत्र परेका चालक तथा सहचालकले नजिकैको धाराबाट पानी ल्याएर सडकछेउमै खाना पकाई खाने गरेका छन् । लामो समयसम्म सडकमा रोकिनुपर्दा दैनिक खर्च बढ्नुका साथै खानेपानी, खाना र शौचालयजस्ता आधारभूत सुविधाको अभावले थप कठिनाइ भइरहेको छ । यसअघि पनि काठमाडौँतर्फ जाँदा कृष्णभीरलगायत स्थानमा लामो समयसम्म अलपत्र पर्नुपरेको स्मरण गर्दै राजपुतले अवरुद्ध राजमार्ग चाँडै सञ्चालनमा आउने अपेक्षा व्यक्त गरे । चाडपर्वका लागि खाद्यान्न समयमै गन्तव्यमा पुर्याउने र दसैँअघि परिवारसँग भेटघाट गर्ने चालकहरूको चाहना भए पनि सडक अवरुद्ध हुँदा उनीहरू समस्यामा परेका छन् ।
यात्रु पनि प्रभावित, वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा चितवन र धादिङ हुँदै काठमाडौँ जाने यात्रु पनि प्रभावित भएका छन् । भरतपुर बसपार्कमा अलपत्र परेका यात्रुलाई ट्राफिक प्रहरीले हेटौँडाको वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ जान सहजीकरण गरेको छ । प्रहरीले यात्रुले तिरेको भाडा फिर्ता गराउने व्यवस्था मिलाउँदै उनीहरूलाई वैकल्पिक मार्गबाट पठाएको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूलाई गन्तव्यसम्म पुग्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।
७० मिटर सडक भासियो, मर्मतका लागि १३ वटा उपकरण परिचालन
नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार गजुरीबाट काठमाडौँतर्फ करिब पाँच किलोमिटरको दूरीमा रहेको गलौँदीमा सडक भासिएको हो । उनका अनुसार त्यहाँ ७० मिटर लम्बाइ र चार मिटर चौडाइको सडक भासिएको छ । सडकको भित्तासम्मै चिरा परेकाले तत्काल मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याउन चुनौती देखिएको छ । सडक मर्मत तथा खुलाउने कामका लागि पाँच वटा एक्साभेटर, दुई वटा लोडर र छ वटा टिप्पर परिचालन गरी ब्याक कटिङको काम भइरहेको मानन्धरले जानकारी दिए । राजमार्गमाथि गाउँ जाने शाखा सडक रहेकाले सबै भित्ता काट्न सम्भव नभएको उनको भनाइ छ । सडक भासिएको स्थानमा आवश्यक काम गर्दै राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
मानन्धरका अनुसार शनिबार साँझसम्म राजमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
दसैँ नजिकिँदै गर्दा अत्यावश्यक खाद्यान्न बोकेका मालवाहक गाडी लामो समयसम्म रोकिँदा आपूर्ति व्यवस्थामा समेत असर पर्ने चिन्ता बढेको छ । चालकहरू भने राजमार्ग छिट्टै सञ्चालनमा आएर खाद्यान्न गन्तव्यमा पुर्याउन र चाडपर्वअघि परिवारसँग भेटघाट गर्न पाइने आशामा छन् ।




