करिश्मा गुप्ताको अध्यक्षतामा पर्सा जिल्ला बालक्लब सञ्जाल गठन

spot_img

वीरगंज,२१ असोज । बालबालिकाको अधिकार संरक्षण तथा प्रवर्द्धनसँगै उनीहरूको अर्थपूर्ण सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा १५ सदस्यीय जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित भेलाले वीरगंज महानगरपालिकाकी करिश्मा गुप्ताको अध्यक्षतामा जिल्ला बालक्लब सञ्जाल गठन गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका बालक्लब तथा बालक्लब सञ्जालबीच समन्वय र सहकार्य बढाउँदै बालबालिकाका सवाललाई जिल्लास्तरमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले सञ्जाल गठन गरिएको जनाइएको छ । नवगठित सञ्जालको उपाध्यक्षमा धोबिनी गाउँपालिकाकी समसुन खातुन, सचिवमा बहुदरमाई नगरपालिकाका सलमान हवारी र सहसचिवमा सखुवा प्रसौनी गाउँपालिकाका सुरज साह चयन भएका छन् । जिल्लाका बाँकी स्थानीय तहबाट समेत प्रतिनिधित्व हुने गरी १५ सदस्यीय जिल्ला बालक्लब सञ्जाल गठन गरिएको आयोजकले जनाएको छ ।

बालबालिकासँग सम्बन्धित साझा समस्या तथा सवाललाई स्थानीय तहबाट जिल्लास्तरसम्म पुर्‍याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र बालअधिकारका विषयमा समन्वयात्मक रूपमा काम गर्ने सञ्जालको उद्देश्य रहेको बताइएको छ । कार्यक्रम जिल्ला समन्वय समिति, पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्य तथा उपप्रमुख पुरनप्रसाद कुर्मी र जिल्ला समन्वय अधिकारी उमेशराज रिमालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाकी बालकल्याण अधिकारी सावित्री कुमारी भण्डारी, बाल हेल्पलाइन १०९८ का कृष्णप्रसाद यादव, दिब्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी लगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा बालक्लब सञ्जालका प्रतिनिधिहरूको सहभागिता थियो । नवगठित जिल्ला बालक्लब सञ्जालले जिल्लाका बालबालिकाका साझा समस्या र सवाललाई जिल्लास्तरमा उठान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै बालअधिकार संरक्षण तथा प्रवर्द्धन, बाल सहभागिता सुनिश्चित गर्ने, बालमैत्री नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउने, बालबालिकामाथि हुने हिंसा तथा विभेद न्यूनीकरण गर्ने र बालमैत्री वातावरण निर्माणका लागि भूमिका खेल्ने बताइएको छ ।

बालबालिकासँग सम्बन्धित विषयमा उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउन तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरूको भनाइ थियो । स्थानीय तहमा गठित बालक्लब तथा बालक्लब सञ्जालहरूबीच समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै बालबालिकाको सहभागितालाई निर्णय प्रक्रियासम्म पुर्‍याउन जिल्ला सञ्जाल गठन महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूले बताएका छन् ।

बालबालिकाका अधिकार र सवाललाई स्थानीय तहमा मात्र सीमित नराखी जिल्लास्तरमा समेत साझा रूपमा उठान गर्न सकिने भएकाले नवगठित सञ्जालले आगामी दिनमा बालमैत्री नीति, कार्यक्रम तथा वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमको सहजीकरण दिब्य विकास स्रोत केन्द्र, पर्साका कार्यक्रम अधिकृत संजय चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once