कलैया,०९ असोज । बाराको जीतपुरबाट ८० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगंज महानगरपालिका–१४ का १८ वर्षीय राजन पासवान रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाका आधारमा वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३७५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिए । पक्राउ परेका दुवै जनाको साथबाट ८० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।




