पहिरोले कर्मैया–पिपलमाडी सडक ठप्प, दर्जन गाउँका बासिन्दा समस्यामा

spot_img

सर्लाही,०६ असोज । सर्लाहीको बागमती नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने कर्मैया–पिपलमाडी सडक पहिरोका कारण अवरुद्ध भएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । गत शनिबार परेको वर्षासँगै गएको पहिरोले बागमती नगरपालिका–११ अन्तर्गत विभिन्न तीन स्थानमा सडक पुरिएपछि यातायात सेवा पूर्णरुपमा ठप्प भएको हो ।

हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानका अनुसार पहिरोले सडकको विभिन्न भागमा क्षति पुर्याएपछि उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध हुँदा विशेषगरी बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएको स्थानीयको भनाइ छ । अन्तरप्रदेशस्तरीय महत्व बोकेको कर्मैया–पिपलमाडी सडकले पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्ने काम गर्छ । तर, कर्मैयादेखि पिपलमाडीसम्मको करिब १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्रुहरू सवारीसाधन छाडेर पैदल यात्रा गर्न बाध्य भएका छन् ।

सडक बन्द भएपछि हरिहरपुरगढी गाउँपालिका क्षेत्रका करिब एक दर्जन गाउँका बासिन्दा दैनिक उपभोग्य सामग्री खरिद, औषधि उपचार तथा अन्य आवश्यक कामका लागि लामो दूरी तय गर्न बाध्य भएका छन् । छोटो दूरीको सडक पहिरोका कारण बन्द भएपछि स्थानीयले घुमाउरो बाटो हुँदै हेटौँडा वा सिन्धुली पुग्नुपर्ने अवस्था आएको व्यवसायी किस्मतराज मैनालीले बताउनुभयो । सडक अवरुद्ध हुँदा स्थानीय उपभोक्तासँगै व्यापारीसमेत प्रभावित भएका छन् । विशेषगरी चाडपर्व नजिकिँदै गर्दा सडक बन्द भएकाले दैनिक आवश्यक सामग्रीको ओसारपसारमा समस्या भएको मैनालीको भनाइ छ । छोटो बाटोबाट सहज रूपमा सामान ल्याउन–लैजान नसक्दा व्यापार व्यवसायमा समेत असर परेको उहाँले बताउनुभयो ।

यातायात सेवा ठप्प भएपछि कर्मैया–पिपलमाडी सडकखण्डमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारीसाधनसमेत थन्क्याएर राख्नुपरेको यातायात व्यवसायी कर्मा लामाले बताउनुभयो । सडक बन्द भएपछि नियमित रूपमा यात्रु ओसारपसार गर्दै आएका व्यवसायीको आम्दानीसमेत प्रभावित भएको उहाँको भनाइ छ । सवारीसाधन सञ्चालन हुन नसकेपछि स्थानीय बासिन्दा पैदलै आउजाउ गर्न बाध्य भएका छन् । बजारबाट दाल, चामललगायत दैनिक उपभोग्य खाद्य सामग्रीसमेत बोकेर घरसम्म पुर्याउनुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ । सडक सञ्चालनमा नआएसम्म दैनिक आवश्यकता पूरा गर्नसमेत थप कठिनाइ हुने उनीहरूको भनाइ छ ।

बागमती र मधेस प्रदेशलाई जोड्ने महत्वपूर्ण ‘लिङ्क रोड’ का रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरे क्षेत्रको जोखिमपूर्ण भूभागसमेत पर्छ । सडकको करिब डेढ किलोमिटर जोखिमपूर्ण खण्ड सर्लाहीतर्फ रहेको बताइएको छ । वर्षाका कारण सो क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको र सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय बासिन्दा तथा यातायात व्यवसायीले भोग्नुपरेको छ ।

स्थानीयले अवरुद्ध सडक तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सडक सञ्चालनमा आएमा हरिहरपुरगढी क्षेत्रका दर्जनौँ गाउँका बासिन्दालाई हेटौँडा, सिन्धुलीलगायतका बजार तथा स्वास्थ्य संस्थासम्म आवतजावत गर्न सहज हुने स्थानीयको अपेक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once