वीरगंज,२९ भदौ । वीरगंजस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल धरौटीमा रिहा भएका छन्।
सोमबार साँझ अध्यक्ष यादव २५ हजार रुपैयाँ र प्रहरी निरीक्षक पौडेल १८ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। यस्तै, घटनामा पक्राउ परेका अन्य ६ जनासमेत धरौटीमा छुटेका छन्। पक्राउ परेका चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन्। क्यासिनोका अन्य कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साहले भने जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले गत शनिबार राति गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के अप्रेसन गरेको थियो। अप्रेसनका क्रममा प्रहरीले गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा अध्यक्ष यादव सर्वसाधारणबाट उठाइएको करबाट सञ्चालित सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले क्यासिनो परिसरबाटै सखुवा प्रसौनी गाउँपालिकाको नाममा रहेको सरकारी गाडीसमेत नियन्त्रणमा लिएको थियो।
नेपालको कानुनले क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने र खेलाउने कार्यलाई निषेध गरेको छ। सोही कानुनी व्यवस्थाविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरीले छड्के कारबाही गरेको जनाएको छ।




