जनकपुरधाम,२७ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।
जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई वर्तमान संकटबाट निकास दिन निर्माण गरिएको स्पष्ट पारे । उनले मुलुक अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तिलगायतका बहुआयामिक संकटबाट गुज्रिरहेको बताए । यस्ता जटिल समस्यालाई केवल सत्ता परिवर्तन वा सत्ताको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने उनको भनाइ थियो ।
साहले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबल बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’ कार्यकर्ताको मनोबल उच्च राख्दै संगठनलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो । अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई जोड्ने, मुलुकलाई संकटबाट जोगाउने, नयाँ निकास दिने, विगतमा प्राप्त उपलब्धिको रक्षा गर्ने तथा जनताका थप अधिकारको ग्यारेन्टी गर्ने रहेको साहले बताए ।
उनका अनुसार वर्तमान परिस्थितिमा देशको समस्या समाधान गर्न राजनीतिक शक्तिहरूबीचको सहकार्य, जनताको सहभागिता र संगठित प्रयास आवश्यक छ । विगतमा विभिन्न राजनीतिक संघर्षमा सहभागी नेतृत्व तथा शक्तिहरूले समाज र देशमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै साहले उनीहरूले संघर्षको इतिहास निर्माण गरेको बताए । विगतमा विभिन्न विकासका मोडलसमेत निर्माण भएको चर्चा गर्दै उनले ती अनुभवबाट प्राप्त सकारात्मक पक्षलाई वर्तमान संकट समाधानका लागि उपयोग गर्नुपर्नेमा जोड दिए । विगतका उपलब्धि र अनुभवलाई बेवास्ता गरेर नयाँ निकास खोज्न नसकिने उनको भनाइ थियो ।
सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सरकार ढाल्ने खेलका लागि निर्माण नगरिएको दोहोर्याए । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ उनले स्पष्ट पारे । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप उनले लगाए । सत्ता केन्द्रित राजनीतिक गतिविधिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने भन्दै साहले देशका प्रमुख संकट समाधानमा केन्द्रित भएर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने बताए ।
उनले आगामी दिनमा अग्रगामी मोर्चाको संगठनलाई थप सुदृढ गर्दै देशभरका कार्यकर्ता तथा जनताको मन जोड्ने अभियान सञ्चालन गरिने बताए । मोर्चालाई प्रभावकारी र बलियो बनाउन विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि तथा आगामी संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिइने साहले बताए ।
मुलुक अहिले विभिन्न प्रकारका संकटबाट गुज्रिरहेको अवस्थामा त्यसबाट निकासका लागि जनताको सहभागिता, एकता र संगठित संघर्ष अपरिहार्य रहेको उनको भनाइ थियो । अग्रगामी मोर्चाले देशलाई वर्तमान संकटबाट निकास दिँदै जनताका अधिकारको संरक्षण र थप अधिकारको सुनिश्चितताका लागि भूमिका निर्वाह गर्ने साहले बताए ।




