काठमाडौँ,२६ भदौ । खोज तथा उद्धारका लागि रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म ठूला उपकरण लैजान पहुँचमार्ग तयार भएको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार रसुवाको स्याफ्रुबेँशी हुँदै चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेभी इक्युपमेन्ट लैजान सकिने गरी पहुँच सडक निर्माण गरिएको हो। पहुँचमार्ग निर्माण हुनुअघि नै विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङभित्र जम्मा भएको लेदो तथा माटो हटाउँदै खोजी कार्य जारी राखेको थियो। अब एक्स्काभेटरलगायत ठूला उपकरण सुरुङसम्म लैजान बाटो खुलेपछि खोज तथा उद्धार कार्य थप तीव्र पारिने सेनाले जनाएको छ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ८ जना मानिस फसेको आशंका गरिएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारका लागि नेपाली सेनासहितको टोलीले खोजी कार्य जारी राखेको छ। यसैबीच, पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेर उद्धार तथा खोजी कार्यमा समन्वय गरिरहेका छन्। २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना क्षेत्रमा सांसद सागर ढकाल पनि उद्धार कार्यमा खटिएका छन्।
सैनिक प्रवक्ता बस्नेतले चिलिमे क्षेत्रमा थप खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिँदै सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो।





