काठमाडौँ,२६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषको रकम लगानी गर्दा राजनीतिक अभिष्टलाई प्राथमिकता नदिने स्पष्ट पार्नुभयो।
उहाँले विगतमा कर्मचारी सञ्चय कोषको रकमबाट विमान खरिद गर्दा गरिएको लगानी अपेक्षाअनुसार फलदायी हुन नसकेको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा यस्ता निर्णय दोहोरिन नदिन सरकार सचेत रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारी सञ्चय कोषमा हाल रु. ७०० अर्बभन्दा बढी रकम रहेको जानकारी दिँदै कर्मचारीको रकमलाई समुचित र उत्पादनमूलक ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। रकम लगानी नगरी सञ्चित गरेर मात्र राख्नु कोषको उद्देश्य नभएको उहाँको भनाइ थियो।
उहाँले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ अर्थात् योग्यतामा आधारित प्रक्रिया अपनाइएको जानकारी दिनुभयो। कोषका प्रशासकको छनोटसमेत प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको उहाँले स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना तथा महिला सहभागितालगायत विषयमा सांसदहरूले उठाएका प्रश्नलाई दफावार छलफलका क्रममा आवश्यक संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्नुभएको थियो।





