वीरगंज,२५ भदौ । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना बितिसक्दा पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेका १६ स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको मात्र खाता सञ्चालनमा आएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीका अनुसार देवताल गाउँपालिका, करैयामाई गाउँपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिकाको मात्र खाता सञ्चालनमा आएको हो । बारा जिल्लामा दुई उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह छन् । तीमध्ये कलैया उपमहानगरपालिकासहित १० स्थानीय तहको खाता अझै सञ्चालनमा आउन बाँकी रहेको कोष नियन्त्रक गिरीले जानकारी दिए ।
खाता सञ्चालन हुन नसकेका स्थानीय तहमा कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, फेटा गाउँपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सुवर्ण गाउँपालिका रहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि स्थानीय तहको खाता सञ्चालन नहुँदा त्यसको प्रत्यक्ष असर कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म परेको छ । सरकारले कर्मचारीलाई १५ दिनभित्र तलब खुवाउने व्यवस्था गर्ने बताए पनि स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा दुई महिनासम्म पनि कर्मचारीले तलब पाउन नसकेको अवस्था छ ।
स्थानीय तहको दैनिक प्रशासनिक तथा विकाससम्बन्धी गतिविधिका लागि आर्थिक कारोबार सञ्चालन गर्नुपर्ने भए पनि खाता सञ्चालन नहुँदा बजेट कार्यान्वयनमा समेत समस्या देखिएको छ । यसले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम अघि बढाउन कठिनाइ उत्पन्न हुने अवस्था देखिएको छ । यसैबीच, छिमेकी जिल्ला पर्साका पनि अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन नसकेको जनाइएको छ । प्राप्त जानकारीअनुसार पर्सामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको मात्र खाता सञ्चालनमा आएको छ ।
बारा र पर्साका अधिकांश स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, कर्मचारीको तलब भुक्तानी तथा विकास निर्माणका गतिविधि प्रभावित हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि स्थानीय तहको आर्थिक कारोबार सहज रूपमा सञ्चालन हुन नसक्दा सेवा प्रवाह र विकास निर्माणका काममा समेत असर पर्न सक्ने देखिएको छ।





