काठमाडौं,२३ भदौ । प्रधानमन्त्री बालेन शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गत वर्ष २३ भदौ अर्थात् सेप्टेम्बर ८ मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शाहले सुशासन कायम हुने बताएका हुन्।
जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा संक्षिप्त सन्देश लेख्दै भनेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ । शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’ गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा त्यसको भोलिपल्ट २४ भदौमा देशभर प्रदर्शन भएको थियो।
दुई दिनसम्म चलेको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मी तथा प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी र तोडफोडका घटना भएका थिए। आन्दोलनपछि सरकारले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा राज्य संयन्त्रमा सुधार ल्याउने प्रतिबद्धता जनाएको थियो। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरेको हो। यसै निर्णयअनुसार जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सवका दिन सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ। आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा उनीहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइएको हो।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शाहको ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धतालाई जेनजी आन्दोलनपछि सरकारले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण तथा राज्य संयन्त्र सुधारका प्रतिबद्धतासँग जोडेर हेरिएको छ।





