जेनजीको बलिदान कहिल्यै नदोहोरिने राजनीतिक संस्कार बनोस् : रवि

spot_img

काठमाडौं,२३ भदौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’ को संज्ञा दिएका छन् । जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण तथा अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिनुपरेको बताएका हुन् ।

लामिछानेले जेनजी आन्दोलनलाई केवल तत्कालीन राजनीतिक घटनाका रूपमा नभई लामो समयदेखि समाजमा बढ्दै गएको असन्तुष्टि र निराशाविरुद्ध युवापुस्ताले गरेको विद्रोहका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार भ्रष्टाचार, राजनीतिक भागबन्डा, राज्य संयन्त्रको असक्षमता र नागरिक अधिकारमाथिको नियन्त्रणले युवामा निराशा बढाउँदै लगेको थियो । त्यही निराशाको अभिव्यक्तिका रूपमा जेनजी आन्दोलन सडकमा आएको उनको भनाइ छ । आफूहरूले एक थोपा रगत नबगाई पार्टी स्थापना गरेको उल्लेख गर्दै लामिछानेले परिवर्तनको आवाज उठाउने क्रममा युवा पुस्ताको रगत बगेको देख्नु आफ्नो जीवनकै सबैभन्दा पीडादायी क्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो।’

भाद्र २३ र २४ गते देशमा भएको घटनालाई स्मरण गर्दै लामिछानेले त्यस्तो अवस्था फेरि कहिल्यै दोहोरिन नहुने कामना गरेका छन् । परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गर्दै उनले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाएका सम्पूर्ण अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत लामिछानेले गरेका छन् ।

परम्परागत राजनीतिक शैली अस्वीकार

लामिछानेले राजनीतिमा चासो नराख्ने पुस्ताका रूपमा चित्रित गरिँदै आएको युवापुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताएका छन् । युवाहरूले सडकबाट उठाएका प्रश्न र मागहरूले राजनीतिक नेतृत्वलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको उनको धारणा छ । उनले जेनजी आन्दोलनबाट उठेका प्रश्नहरूको जवाफ दिने जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको उल्लेख गरेका छन् । युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई समयले उभ्याएको उनको भनाइ छ । तर, आफूहरूलाई प्रश्न गर्ने पुस्ता फेरि जन्मिने वा सडकमा उभिन सक्ने चेतावनीसमेत लामिछानेले दिएका छन् । त्यसैले वर्तमान राजनीतिक नेतृत्वले आफ्नो कार्यसम्पादनप्रति निरन्तर खबरदारी र समीक्षा स्वीकार गर्नुपर्ने उनको धारणा छ ।

‘हामीसँग पनि जवाफ माग्न भोलि कोही उभिनेछ’

लामिछानेले आफूहरूलाई पनि भोलि जनताले प्रश्न गर्न सक्ने स्मरण गराउँदै युवा, नागरिक समाज र आम नागरिकलाई निरन्तर खबरदारी गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’ उनले युवाहरू, नागरिक समाज तथा आम जनसमुदायलाई रास्वपाको कार्यसम्पादनमाथि रचनात्मक खबरदारी गर्न आह्वान गरेका छन् । आफ्ना कामको निर्मम समीक्षा निरन्तर भइरहनुपर्ने भन्दै उनले आलोचना र खबरदारीलाई लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण पक्षका रूपमा स्वीकार गरेका छन् ।

निराशाको भाष्य स्थापित हुन नदिन आग्रह

लामिछानेले नागरिक आक्रोशलाई निराशामा परिणत हुन नदिई त्यसलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन युवा, नागरिक समाज र आम नागरिकसँग अपिल गरेका छन् । उनका अनुसार जेनजी आन्दोलनले उठाएको नागरिक आक्रोशलाई सकारात्मक दिशामा अघि बढाउँदै राष्ट्र निर्माणको शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता छ । यसका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । लामिछानेले जेनजी आन्दोलनलाई ‘जागरणको आँधी’ को संज्ञा दिँदै त्यसले देखाएको मार्गबाट रास्वपा विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई जेनजी आन्दोलनले देखाएको मार्गका रूपमा प्रस्तुत गर्दै त्यसबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढ संकल्प व्यक्त गरेका छन् । ‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ उनले वक्तव्यमा भनेका छन् ।

लामिछानेले जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक र सामाजिक चेतनालाई सम्मान गर्दै त्यसबाट प्राप्त सन्देशलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने संकेतसमेत गरेका छन् । युवापुस्ताको बलिदान र नागरिकका प्रश्नलाई स्मरण गर्दै आगामी राजनीतिक यात्रा विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानतर्फ केन्द्रित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once