सामाजिक सञ्जालको गलत सूचना र साइबर अपराध प्रहरीका नयाँ चुनौती : आईजीपी कार्की

spot_img

काठमाडौं,३० साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, भ्रामक सूचना तथा साइबर अपराध नेपाल प्रहरीका लागि नयाँ चुनौतीका रूपमा देखा परेको बताएका छन्। यस्ता चुनौतीको सामना गर्न नेपाल प्रहरीले प्रविधिको उच्चतम प्रयोगसँगै विशिष्टीकृत जनशक्ति विकासलाई तीव्रता दिएको उनले बताएका हुन्।

नेपाल प्रहरीको फेसबुक पेजमा सार्वजनिक गरिएको भिडियोमार्फत आईजीपी कार्कीले सामाजिक सञ्जालको सहज पहुँच र प्रयोगका कारण उत्तेजित हुने तथा आवेगमा तत्काल सूचना सम्प्रेषण गर्ने प्रवृत्ति बढ्दै गएको बताए। उनका अनुसार यसले समाजमा रहेको सामाजिक सद्भावमा समेत असर पार्ने अवस्था सिर्जना भएको छ। “धेरै मानिसलाई सामाजिक सञ्जाल सित्तैमा प्राप्त भएको वस्तु जस्तो लाग्छ, जसको सहज प्रयोगले उत्तेजित हुने र आवेगलाई तत्काल सम्प्रेषण गर्ने प्रवृत्ति बढेको छ,” उनले भने, “यसले हाम्रो मजबुत सामाजिक सद्भावलाई कतै न कतै खलबल्याएको महसुस हुन्छ।”

सूचनामा आधारित प्रहरी सेवामा जोड

सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक सूचना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले इन्टेलिजेन्स लेड पुलिसिङ (सूचनामा आधारित प्रहरी सेवा) लाई अगाडि बढाएको आईजीपी कार्कीले बताए। प्रहरीले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै एआई एण्ड एडभान्स एनालिटिक्स सेल स्थापना गरेको उनले जानकारी दिए। त्यस्तै, साइबर ब्युरोलाई आवश्यक साधनस्रोत र प्रविधिबारे दक्ष जनशक्तिले सम्पन्न बनाउँदै रुपान्तरण गर्ने काम भइरहेको उनको भनाइ छ। “हामीले एआई एण्ड एडभान्स एनालिटिक्स सेल स्थापना गरेका छौँ,” उनले भने, “साइबर ब्युरोलाई साधनस्रोत सम्पन्न र प्रविधिबारे जानकार ‘स्किल्ड म्यानपावर’ ले भरिपूर्ण बनाएर रुपान्तरण गरिँदै छ।”

सार्वजनिक स्थलमा एआई जडित क्यामेरा विस्तार

नेपाल प्रहरीले अहिले सहरका सार्वजनिक स्थलहरूमा एआई जडित सर्भिलेन्स क्यामेराको विस्तार गरिरहेको पनि आईजीपी कार्कीले बताए। सार्वजनिक रूपमा उपलब्ध सूचना तथा तथ्याङ्कको विश्लेषण गर्ने प्रविधि ओसिन्ट (OSINT) मार्फत नागरिकका शङ्कास्पद डिजिटल गतिविधिमाथि निगरानीसमेत भइरहेको उनले जानकारी दिए। प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रण, सम्भावित जोखिम पहिचान तथा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

अनलाइन ठगी रोक्न ‘एन्टी साइबर स्क्याम सेन्टर’

वित्तीय साइबर अपराध तथा अनलाइन ठगीबाट नागरिकलाई जोगाउन नयाँ संयन्त्र निर्माणको तयारी भइरहेको पनि आईजीपी कार्कीले बताए। उनका अनुसार प्रहरीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ को अवधारणा अघि सारेको छ। उक्त संयन्त्रमा बैंक, नेपाल राष्ट्र बैंक, टेलिकम तथा प्रहरीका प्रतिनिधिहरूलाई एउटै स्थानमा राख्ने योजना रहेको छ। “हामीले ‘एन्टी साइबर स्क्याम सेन्टर’ को अवधारणा ल्याएका छौँ, जहाँ बैंक, राष्ट्र बैंक, टेलिकम र प्रहरीका प्रतिनिधिहरू एकै ठाउँमा बस्नेछन्,” उनले भने। उनका अनुसार यस्तो संयन्त्र बनेपछि अनलाइन ठगी भएको सूचना प्राप्त हुनासाथ पैसा तथा सञ्चार रोक्ने गरी तत्काल कारबाही गर्न सकिनेछ। यसबाट ८५ प्रतिशतभन्दा बढी ठगी रोक्न सकिने अपेक्षा गरिएको उनले बताए। त्यस्तै, अनलाइन वित्तीय ठगीसम्बन्धी घटना रिपोर्ट गर्न ‘अफर्स’ नामक सफ्टवेयर प्रणालीसमेत विकास भइरहेको उनले जानकारी दिए।

आधुनिक अपराधअनुसार जनशक्ति विकास

आईजीपी कार्कीले परम्परागत अपराधको तुलनामा आधुनिक तथा प्रविधिमा आधारित अपराध बढ्दै गएकाले नेपाल प्रहरीले सोहीअनुसार जनशक्ति भर्ना र तालिममा जोड दिएको बताए। विशेषगरी साइबर ब्युरो जस्ता विशिष्टीकृत इकाइमा काम गर्ने जनशक्तिको क्षमता र रुचिका आधारमा छनोट गर्ने कार्यविधि बनाइएको उनले जानकारी दिए। “साइबर ब्युरो जस्ता विशिष्टीकृत इकाइहरूमा क्षमता र रुचि हेरेर जनशक्ति छनोट गर्ने कार्यविधि बनाएका छौँ,” उनले भने। प्रहरी कर्मचारीलाई आधुनिक पुलिसिङका मापदण्ड तथा प्रविधिबारे दक्ष बनाउन विभिन्न देशका सम्बन्धित संस्थामा तालिमका लागि पठाउने गरिएको पनि उनले बताए। उनका अनुसार भारत, यूएई, जापान, कोरिया तथा अमेरिकाको एफबीआई र बेलायतको ‘कलेज अफ पुलिसिङ’ जस्ता संस्थामा प्रहरी कर्मचारीलाई तालिमका लागि पठाइँदै आएको छ।

विदेशबाट भ्रम फैलाउनेलाई पनि कानुनी दायरामा ल्याइने

नेपाल बाहिर बसेर सामाजिक सञ्जालमार्फत गलत सूचना तथा भ्रम फैलाउनेहरूलाई समेत कानुनी दायरामा ल्याउने आईजीपी कार्कीले चेतावनी दिएका छन्। उनले नेपाल बाहिर बसेर सामाजिक सञ्जालमा जे बोले पनि हुन्छ भन्ने धारणा प्रहरीले खण्डित गर्ने बताए। हेट स्पिच तथा डिप फेकमार्फत शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने गतिविधिमाथि पनि प्रहरीले निगरानी बढाएको उनको भनाइ छ। “नेपाल बाहिर बसेर जे बोले पनि हुन्छ भन्ने भाष्यलाई प्रहरीले खण्डित गर्नेछ,” उनले भने, “हेट स्पिच र डिप फेकका माध्यमले शान्ति सुरक्षालाई चुनौती दिनेहरूलाई हामीले कानुनी दायरामा ल्याउन केन्द्रदेखि जिल्लासम्म साइबर सुरक्षाका संरचना विस्तार गर्दैछौँ।”

पुराना घटनाको अनुसन्धानमा पनि प्रविधिको प्रयोग

नेपाल प्रहरीले विगतका घटनालाई समेत नबिर्सिने र प्रविधिको प्रयोगमार्फत पुराना अपराधका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भइरहेको आईजीपी कार्कीले बताए। उनका अनुसार प्रहरीले प्रविधिको प्रयोग गरी १० देखि १२ वर्ष पुराना मुद्दामा संलग्न अपराधीलाई समेत पक्राउ गर्न सफल भइरहेको छ। आधुनिक प्रविधिको प्रयोग, विशिष्टीकृत जनशक्ति विकास तथा सूचनामा आधारित प्रहरी सेवामार्फत बदलिँदो अपराधको स्वरूपसँग जुध्न नेपाल प्रहरी आफ्नो क्षमता विस्तारमा केन्द्रित रहेको आईजीपी कार्कीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once