वीरगंज,२९ साउन । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले भदौ ४ गतेसम्म सडक विस्तारको काम रोक्न आदेश दिएको समाचार सार्वजनिक भए पनि सडक डिभिजन कार्यालय वीरगंजले भने अदालतको आदेश आधिकारिक रूपमा प्राप्त नभएको जनाएको छ।
सडक विस्तारको काम नरोकिएको जानकारी दिँदै सडक डिभिजन कार्यालय वीरगंजका फोकल पर्सन इन्जिनियर दुर्गाप्रसादले अदालतको आदेशबारे कार्यालयलाई आधिकारिक जानकारी नआएकाले सडकका संरचना हटाउने कार्य निरन्तर भइरहेको बताए। उनका अनुसार त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा दायाँ र बायाँ २५/२५ मिटर खाली गराउने अभियान सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत शुक्रबार घण्टाघर क्षेत्रका विभिन्न संरचना हटाइएको उनले जानकारी दिए।
वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडकको सीमाभित्र पर्ने संरचना हटाउने कार्य यसअघि पनि निरन्तर रूपमा हुँदै आएको थियो। सडक डिभिजन कार्यालयका अनुसार अब करिब ३० वटा संरचना मात्र हटाउन बाँकी रहेका छन्। हटाउन बाँकी रहेका संरचनामा केही सरकारी कार्यालय, बैंक तथा होटललगायतका भवन रहेका छन्। सडक डिभिजन कार्यालयका फोकल पर्सन दुर्गाप्रसादका अनुसार अब राष्ट्रिय वाणिज्य बैंक श्रीपुर, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, मकालु होटल, आर्मी ब्यारेकलगायतका संरचना हटाउन बाँकी छन्।
मुख्य सडक विस्तारअन्तर्गत सडकको दायाँबायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अघि बढाइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। शुक्रबार पनि घण्टाघर आसपासका क्षेत्रमा संरचना हटाउने काम जारी रहेकाले सडक विस्तार अभियान नरोकिएको देखिएको छ।
यता, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट भदौ ४ गतेसम्म सडक विस्तारको काम रोक्न आदेश दिएको समाचार सार्वजनिक भएपछि यस विषयमा चासो बढेको छ। तर सडक डिभिजन कार्यालयले भने अदालतको आदेशको आधिकारिक प्रति वा जानकारी हालसम्म प्राप्त नभएको स्पष्ट पारेको छ।
सडक डिभिजन कार्यालयका अनुसार अदालतको आदेशसम्बन्धी आधिकारिक जानकारी प्राप्त भएपछि त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ। आधिकारिक आदेश प्राप्त नभएसम्म भने सडक विस्तारअन्तर्गत संरचना हटाउने कार्य जारी रहने कार्यालयको भनाइ छ।





