काठमाडौं,२८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो ।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै उनले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए ।
तीन नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् । मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण नीति तथा कार्यक्रम निर्माणदेखि लगानी प्रवर्द्धन र निजी क्षेत्रसँगको समन्वयसम्मका विषयमा सल्लाहकार समूहले मन्त्रीलाई आवश्यक सुझाव तथा परामर्श दिनेछ । मन्त्रालयका अनुसार सल्लाहकारहरूले आ–आफ्नो सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयमा मन्त्रीलाई आवश्यक सुझाव र परामर्श उपलब्ध गराउनेछन् ।
ऊर्जा क्षेत्रसँगै नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयलाई समेत समेटेर सल्लाहकार समूह गठन गरिएकाले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्रालयले मन्त्रीका सबै सल्लाहकारले अवैतनिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने जनाएको छ । नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहले पूर्णता पाएसँगै मन्त्रालयका नीति, योजना तथा कार्यक्रम निर्माणमा विज्ञ सुझाव लिने संरचना तयार भएको छ ।





