रवि लामिछाने भदौ ७ गते चीन जाँदै, पाँच सदस्यीय टोलीको नेतृत्व गर्ने

spot_img

काठमाडौं,२७ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा लामिछाने आठदिने भ्रमणका लागि चीन जान लागेका हुन्।

लामिछाने भदौ ७ गते चीन प्रस्थान गरी भदौ १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनीनिकट एक नेताले बताएका छन्। अंग्रेजी मितिअनुसार उनको भ्रमण अगस्ट २३ देखि ३० सम्म हुनेछ। रास्वपा सरकारमा सहभागी भएपछि लामिछानेको यो पहिलो चीन भ्रमण हो। यसअघि उनले भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको पाँचदिने भ्रमण गरेका थिए।

चिनियाँ उच्च अधिकारीसँग भेटवार्ताको तयारी

चीन भ्रमणका क्रममा लामिछानेले उच्च तहका चिनियाँ अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने तयारी रहेको छ। भ्रमणका क्रममा बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान झेङ तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम तय हुने क्रममा रहेको स्रोतले जनाएको छ। लामिछानेको चीन भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धका साथै दुई देशका राजनीतिक दलबीचको सहकार्य, आपसी हित र चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

उनको पहिलो राजनीतिक भेट भने चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग हुने बताइएको छ। स्रोतका अनुसार उनकै निमन्त्रणामा लामिछाने चीन भ्रमणमा जान लागेका हुन्।

सी चिनफिङसँग भेट हुने सम्भावना न्यून

लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिए पनि अहिलेसम्म तयार भएको भ्रमण तालिकामा यस्तो भेट समावेश गरिएको छैन।भ्रमणबारे जानकार एक अधिकारीका अनुसार चिनियाँ प्रोटोकलअनुसार राष्ट्रपति सीले मुख्यतः राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग भेटवार्ता गर्ने भएकाले लामिछानेसँग भेट हुने सम्भावना नरहेको बताइएको छ। यद्यपि, भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासहित राजनीतिक नेतृत्वसँग हुने भेटवार्तालाई रास्वपाको चीनसँगको राजनीतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।

पाँच सदस्यीय टोलीमा निकिता पौड्याल पनि

लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानेछन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौड्यालसमेत सहभागी हुने बताइएको छ। बेइजिङमा हुने राजनीतिक भेटवार्तापछि लामिछानेसहितको टोली तिब्बत जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ। तिब्बतबाट टोलीले कैलाश मानसरोवरको भ्रमण गर्ने तयारीसमेत रहेको बताइएको छ।

भारतपछि चीन भ्रमण

सरकारमा सहभागी भएपछि रास्वपा सभापति लामिछानेले छिमेकी मुलुकहरूसँगको राजनीतिक सम्पर्कलाई निरन्तरता दिँदै आएका छन्। यसअघि उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको पाँचदिने भ्रमणमा गएका थिए। भारत भ्रमणपछि हुन लागेको चीन भ्रमणलाई रास्वपाको पार्टीगत तथा राजनीतिक सम्बन्ध विस्तारको प्रयासका रूपमा हेरिएको छ। सरकारमा सहभागी भएपछि रास्वपा नेतृत्वले नेपालका दुवै ठूला छिमेकी मुलुक भारत र चीनका राजनीतिक नेतृत्वसँग सम्पर्क तथा सम्बन्ध विस्तार गर्दै आएको छ।

चीन भ्रमणका क्रममा हुने उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा छलफलले नेपाल–चीन सम्बन्ध, राजनीतिक दलबीचको सहकार्य र आपसी हितका विषयमा रास्वपाको धारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once