सर्लाही,२७ साउन । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट सर्लाहीको वयलबासतर्फ हुण्डी कारोबारमा प्रयोग हुने रकम लिएर आउँदै गरेको सूचनाका आधारमा प्रहरीले रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मंगलबार भारतबाट ज.१० प ८६५२ नम्बरको स्कुटरमा रकम लिएर एक व्यक्ति आउँदै गरेको सूचना प्राप्त भएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि स्कुटर रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्कुटरमा सवार व्यक्तिले बोकेको कालो झोलाभित्र लुकाइछिपाई राखिएको अवस्थामा विभिन्न दरका नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद नोटमध्ये १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान रहेका छन्। ती सबै नोटको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। रकमसँगै प्रहरीले ज.१० प ८६५२ नम्बरको स्कुटर र Redmi कम्पनीको एउटा मोबाइल फोन समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गरेको छ। पक्राउ परेका महतो तथा बरामद रकम, स्कुटर र मोबाइलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रहरीले रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





