वीरगंज,२१ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर भण्डारण गर्ने, कालोबजारी गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी ‘अत्यन्त जरुरी सूचना’मा पछिल्लो समय ग्यास आपूर्ति व्यवस्थापनका क्रममा केही विक्रेताले कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास भण्डारण गरेर बजारमा अभाव देखाउने, कालोबजारी गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री वितरण गरिरहेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ।
प्रशासनले उपभोक्ताको हकहितविपरीत हुने यस्ता गैरकानुनी तथा दण्डनीय गतिविधि तत्काल रोक्न सम्बन्धित सबै व्यवसायीलाई निर्देशन दिएको छ। साथै, ग्यास बिक्री वितरण गर्दा सरकारले तोकेको मूल्यमा अनिवार्य रूपमा बिल वा रसिदसहित बिक्री गर्न आग्रह गर्दै उपभोक्तालाई पारदर्शी सेवा उपलब्ध गराउन व्यवसायीलाई सचेत गराइएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनाको अवज्ञा गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर बजारमा संकट उत्पन्न गर्ने, तोकिएकोभन्दा बढी मूल्य असुल्ने वा कालोबजारी गरेको पाइएमा ‘कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ तथा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम कडा कानुनी कारबाही गरिने जनाएको छ। त्यस्ता व्यवसायीको मालसामान जफत गरिनुका साथै भारी जरिवाना र जेल सजायसम्म हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।
यसैबीच, ग्यासको कृत्रिम अभाव, कालोबजारी, भण्डारण वा बढी मूल्यमा बिक्री वितरणजस्ता गतिविधि देखिएमा त्यसको प्रमाणसहित तत्काल जिल्ला प्रशासन कार्यालय पर्सा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले आम उपभोक्तासँग आग्रह गरेको छ। बजारलाई स्वच्छ, पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै नागरिकको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनको भनाइ छ।





