राजविराज,१७ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै अब निषेधाज्ञा लागू गरेको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार दुवै नगरपालिकामा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहने भएको हो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना, प्रदर्शन तथा सार्वजनिक भीडभाड हुने गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ।
यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रलाई निषेधाज्ञा लागू गरिएको प्रशासनले स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख गर्दै सर्वसाधारणलाई संयमित रहन, कानुनको पालना गर्न र निषेधाज्ञाको पूर्ण रूपमा सम्मान गर्न आग्रह गरेको छ।
साथै, प्रशासनले निषेधाज्ञा उल्लङ्घन नगर्न सबै नागरिकलाई अनुरोध गर्दै परिस्थितिको निरन्तर मूल्याङ्कनका आधारमा अर्को आदेश जारी नभएसम्म उक्त व्यवस्था यथावत् रहने जनाएको छ।





