रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने चार युवा पक्राउपछि साँझ रिहा

spot_img

वीरगंज,१६ साउन । वीरगंज महानगरपालिका–रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान प्रहरीले पक्राउ गरेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा सोही दिन साँझ रिहा भएका छन्। केही घण्टाको प्रहरी नियन्त्रणपछि उनीहरूलाई रिहा गरिएको हो।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन जना युवाको मृत्यु भएको घटनाको विरोधमा वीरगंजको रानीघाट क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरिएको थियो। सोही क्रममा रानीघाट निवासी प्रदीप सर्राफ, विकास साहसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि हिन्दूवादी सङ्गठनहरूले तत्काल उनीहरूको रिहाइको माग गर्दै विरोध जनाएका थिए। त्यसपछि शनिबार साँझ चारै जनालाई प्रहरीले रिहा गरेको हो।

रिहाइपछि उनीहरूको स्वागतका लागि हिन्दू स्वयंसेवक संघका पदाधिकारी तथा समर्थकहरू उपस्थित भएका थिए। संघका कृष्णा चौरसिया, ओमप्रकाश गुप्तालगायतका पदाधिकारीहरूले रिहा भएका युवाहरूलाई अविरको टीका लगाएर स्वागत गरेका थिए। प्रहरीका अनुसार प्रदर्शनस्थलमा सार्वजनिक शान्ति तथा सामाजिक सद्भावमा असर पुग्ने गरी सडकमा टायर बालेर प्रदर्शन गरिएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। पक्राउको कारबाही जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा गरिएको थियो। उक्त टोलीमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितका सुरक्षाकर्मी सहभागी थिए।

संयुक्त प्रहरी टोलीले प्रदर्शनस्थलबाटै चार जनालाई नियन्त्रणमा लिएको थियो। यद्यपि, पक्राउ गरिएका व्यक्तिहरूको नाम प्रहरीले तत्काल सार्वजनिक गरेको थिएन। पछि उनीहरू रानीघाट निवासी प्रदीप सर्राफ, विकास साहसहित चार जना रहेको खुलेको हो।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला वीरगंजमा पनि हिन्दू सङ्गठनहरूको नेतृत्वमा प्रदर्शन गरिएको थियो। सोही प्रदर्शनका क्रममा पक्राउ परेका चार जनाको रिहाइसँगै शनिबार साँझ उक्त घटनाक्रमले नयाँ मोड लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once