बारागढी गाउँपालिकामा असारे विकासको हतारः गुणस्तरमाथि प्रश्न, तीन दिनमै सडक तयार

spot_img

बारागढी (बारा), २२ असार । आर्थिक वर्षको अन्तिम चरणमा बजेट सक्ने हतारमा बारा जिल्लाको बारागढी गाउँपालिकामा रातारात सडक ढलान भइरहेको भन्दै स्थानीयवासीले गुणस्तर, पारदर्शिता र बजेट खर्च प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । विशेषगरी वडा नं. १ को बुद्धगाई र पिपरा क्षेत्रमा सञ्चालन भइरहेका सडक निर्माण योजनामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिबीच मिलेमतो गरी असारे बजेट दुरुपयोग गरिएको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत पिपरामा १८५ मिटर सडक निर्माणका लागि विनियोजन गरिएको २५ लाख रुपैयाँ तथा गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा बुद्धगाईमा निर्माणाधीन १३५ मिटर सडकको काम अत्यन्त हतारमा भइरहेको छ । निर्माण प्रक्रियामा आवश्यक प्राविधिक मापदण्ड पालना नगरी केही दिनमै काम सक्ने प्रयास गरिएको उनीहरूको दाबी छ । स्थानीय युवाहरूले विरोध जनाएपछि बुद्धगाई क्षेत्रमा रातिको समयमा भइरहेको सडक ढलान केही समयका लागि रोकिएको भएपनि पिपरामा निर्माण कार्य भने निरन्तर जारी रहेको उनीहरूले बताएका छन् । निर्माण सामग्रीको गुणस्तरमाथि शंका उत्पन्न भएपछि केही स्थानीयले गिट्टी र बालुवाको नमुना परीक्षणका लागि लगेको दाबी पनि गरेका छन् ।

स्थानीयवासीका अनुसार पहिलेदेखि ग्राभेल गरिएको सडकमा सामान्य रूपमा गिट्टी–बालुवा थप्ने, एक दिन पानी छर्केर रोड रोलर चलाउने र त्यसको भोलिपल्ट रातारात ढलान गर्ने शैली अपनाइएको छ । उनीहरूका अनुसार कतिपय स्थानमा ढलान भएको केही समयमै वर्षा समेत परेकाले निर्माणको दीर्घकालीन गुणस्तरप्रति थप आशंका उत्पन्न भएको छ । स्थानीयको भनाइमा सामान्य अवस्थामा यस्ता सडक निर्माणमा चरणबद्ध रूपमा पर्याप्त समय आवश्यक पर्ने भएपनि अहिले दुई–तीन दिनमै अधिकांश प्रक्रिया सम्पन्न गरेर भुक्तानीका लागि तयारी भइरहेको देखिएको छ । यसले निर्माणको गुणस्तरभन्दा बजेट खर्चलाई प्राथमिकता दिइएको हो कि भन्ने प्रश्न उठेको उनीहरूको भनाइ छ ।

स्थानीय स्रोतका अनुसार नेपाल सरकारको चालु आर्थिक वर्षको भुक्तानी प्रक्रिया असार २५ गतेपछि बन्द हुने भएकाले असार २० गतेयता गाउँपालिकाका विभिन्न वडामा विकास निर्माणका कामहरू तीव्र गतिमा सञ्चालन गरिएका छन् । निर्माणस्थलमा ठेकेदार रातभर काममा व्यस्त देखिन्छन् भने कार्यालयतर्फ कर्मचारीहरू कागजी प्रक्रिया पूरा गर्न व्यस्त रहेको स्थानीयको आरोप छ ।

यसबाहेक, उपभोक्ता समिति गठन र सञ्चालन प्रक्रियामाथि पनि स्थानीयले प्रश्न उठाएका छन् । बुद्धगाईको सडक योजनामा कानुनी मापदण्डविपरीत उपभोक्ता समिति गठन गरिएको आरोप लगाउँदै उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई उपभोक्ता समितिको अध्यक्ष तथा एक वडा प्रतिनिधिका श्रीमान्‌लाई सदस्य बनाइएको बताएका छन् । उपभोक्ता समितिले आफैं निर्माण नगरी बाहिरी ठेकेदारलाई जिम्मा दिएको र त्यसबाट बिचौलिया शैलीमा आर्थिक लाभ लिने प्रवृत्ति मौलाएको आरोप पनि स्थानीयको छ ।

स्थानीयको दाबीअनुसार २० लाख रुपैयाँ लागतको योजना करिब १५ लाख रुपैयाँमा ठेकेदारलाई जिम्मा लगाइने र उपभोक्ता समितिले कागजी प्रक्रिया पूरा गरी भुक्तानी गराएर बीचको रकम लाभका रूपमा राख्ने अभ्यास बढ्दै गएको छ । यदि यस्तो आरोप सत्य हो भने उपभोक्ता समिति वास्तविक निर्माण व्यवस्थापनभन्दा पनि औपचारिक कागजी माध्यममा सीमित हुने अवस्था देखिएको स्थानीयको भनाइ छ । यद्यपि गाउँपालिकाले भने निर्माण कार्यमा कुनै अनियमितता नभएको दाबी गरेको छ ।

बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले दिनको अत्यधिक गर्मीका कारण श्रमिकलाई काम गर्न कठिनाइ हुने भएकाले रातिको समयमा निर्माण कार्य सञ्चालन गरिएको बताए । उनका अनुसार काम राति वा दिन जुनसुकै समयमा भएपनि गुणस्तरमा कुनै सम्झौता गर्न नदिइने नीति पालिकाको रहेको छ । ‘दिनको चर्को घामका कारण राति काम गर्नुपरेको हो । तर सबैभन्दा महत्वपूर्ण कुरा गुणस्तर हो,’ उनले भने, ‘निर्माणस्थलमा दुई जना इन्जिनियर खटिएका छन् र प्रत्येक कामको नियमित प्राविधिक अनुगमन भइरहेको छ । गुणस्तरमा कुनै प्रकारको लापरवाही स्वीकार गरिने छैन ।’

स्थानीयले भने पालिकाले गरेको दाबीलाई व्यवहारमा पुष्टि गर्न स्वतन्त्र प्राविधिक टोलीमार्फत निर्माण सामग्रीको परीक्षण, कार्यसम्पादनको छानबिन र सम्पूर्ण योजनाको सार्वजनिक लेखापरीक्षण गर्न माग गरेका छन् । उनीहरूको भनाइमा सार्वजनिक बजेटबाट निर्माण हुने पूर्वाधार दीर्घकालीन, गुणस्तरीय र पारदर्शी हुनुपर्ने भएकाले सम्बन्धित निकायले तत्काल निष्पक्ष अनुसन्धान गरी वास्तविक अवस्था सार्वजनिक गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once