देश निर्माणको साझा सपना देखेर महाधिवेशनमा उत्साह : राउत

spot_img

काठमाडौं,०७ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको प्रशंसा गर्दै उनीहरू पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई देश परिवर्तनको साझा लक्ष्य बोकेर चितवन पुगेको बताएका छन्।

रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै राउतले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका प्रतिनिधिहरू देश निर्माणको अठोटसहित एकै ठाउँमा भेला भएको दृश्य उत्साहजनक रहेको बताए। उनले देशको भविष्यप्रति आशावादी नागरिकहरूको उपस्थितिले नयाँ राजनीतिक सम्भावनाको संकेत गरेको उल्लेख गरे।

सम्बोधनका क्रममा उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “तपाईँहरू महाधिवेशनमा पदको लागि आउनुभएको होइन। तपाईँहरूमा यो देश बदल्ने उत्कट चाहना छ। त्यसको लागि आउनुभएको हो। मभित्र पनि देश बनाउने चाहना भएकाले तपाईँहरूलाई शुभकामना दिन उपस्थित भएको हुँ।”

राउतले आफू कुनै राजनीतिक प्रतिस्पर्धीको हैसियतले नभई सहयात्री र सहयोगीको भूमिकामा शुभकामना दिन आएको बताए। देशलाई समृद्ध, सक्षम र विकसित बनाउने सपना आफूले पनि देखिरहेको उल्लेख गर्दै उनले रास्वपाका कार्यकर्ता तथा प्रतिनिधिहरूसँग त्यो सपना साझा रहेको धारणा व्यक्त गरे। “जुन सपना तपाईँहरूले देख्नुभएको छ, त्यही शुभकामना मैले पनि देखेको छु। कुनै प्रतिस्पर्धीको होइन, तपाईंहरूको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन उपस्थित भएको छु,” उनले भने।

राउतले आफ्नो राजनीतिक जीवनको विगत सम्झँदै समानता, अधिकार र पहिचानका लागि आफूले लामो समय संघर्ष गरेको उल्लेख गरे। त्यस क्रममा उनले मधेसी समुदायको प्रतिनिधित्व बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व र क्षमताको समेत प्रशंसा गरे। उनले प्रधानमन्त्री शाहलाई “स्मार्ट, स्टाइलिस र डाइनामिक” नेताको रूपमा चित्रित गर्दै नयाँ पुस्ताले नेतृत्वमा देखाएको आत्मविश्वास र ऊर्जा सकारात्मक रहेको बताए। राउतले हल्का व्यङ्ग्यात्मक शैलीमा राजनीतिक वातावरणबारे टिप्पणी गर्दै भविष्यमा विपक्षी दलले कालो पोसाक लगाउन पनि निषेध गरिने अवस्था आउला कि भन्ने आशंका समेत व्यक्त गरे।

उनको भनाइले लोकतान्त्रिक अभ्यासमा विचारको स्वतन्त्रता, राजनीतिक सहकार्य र फरक दलबीचको सम्मानजनक सम्बन्ध आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति र शुभकामना मन्तव्य जारी रहेकाले महाधिवेशनले राष्ट्रिय राजनीतिक वृत्तमा समेत विशेष चासो पाएको छ। सीके राउतको सम्बोधनले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर देश विकास र समृद्धिको साझा लक्ष्यमा सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once