वीरगंज (पर्सा), २३ फागुन । प्रतिनिधिभा सदस्य निर्वाचन अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल कुमार कानु विजयी भएका छन् । कानुले ३० हजार ७४० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियालाई भारी मतले पराजित गरेका हुन् ।
निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार चौरसियाले ११ हजार ८९० मत मात्रै प्राप्त गरेका छन् । यससँगै कानुले उनलाई १८ हजार ८५० मतान्तरले पछाडि पार्दै शानदार जीत दर्ता गरेका हुन् । विगतमा पर्साबाट निर्वाचित भई मन्त्री समेत बनेका चौरसियाले यस पटक भने अपेक्षित समर्थन जुटाउन सकेनन् । मतपरिणामले उनको राजनीतिक आधार कमजोर भएको संकेत गरेको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ ।
यस निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी छिन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार अग्रवालले २ हजार ६४२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार विना जैसवालले १ हजार ९९९ मत पाएकी छन् ।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज कुमार चौधरीले ९१३ मत प्राप्त गरेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बच्चन दासले ३३० मत प्राप्त गरेका छन् । यसरी नै जनमत पार्टीका श्याम प्रसाद गुप्ताले २२८, आम जनता पार्टीकी रन्जु कुमारी साहले २०३, नेपाल जनता पार्टीका सन्तोष कुमार पटेल १७८, उज्यालो नेपाल पार्टीका कृष्णमुरारी प्रजापतिले १४८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कानुको विजयसँगै पर्सा–२ मा रास्वपाको राजनीतिक उपस्थिती थप मजबुत बनेको छ । लामो समयदेखि स्थापित दलहरूको प्रभाव रहेको पर्सा–२ मा मतदाताले यसपटक नयाँ विकल्प रोजेको स्पष्ट संकेत दिएका छन् । त्यही कारण पूर्वमन्त्रीसमेत रहेका चौरसिया अपेक्षाकृत कमजोर अवस्थामा देखिए भने कानुले मतदाताको व्यापक समर्थन प्राप्त गर्दै प्रभावशाली जित निकाल्न सफल भएका हुन् ।





