Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
23.1 C
Kathmandu

जन कल्याण सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, सयौं स्थानीय लाभान्वित

spot_img

जितपुर,०४ फागुन । जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४औँ स्थापना दिवसको अवसर पारेर जितपुर वडा नम्बर ७ रामटोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोमबार सम्पन्न उक्त शिविर एल.एस. न्युरो एन्ड जेनरल होस्पिटल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। वरिष्ठ न्युरो सर्जन डा. सन्जिव झा, अर्थोपेडिक सर्जन डा. चन्द्रभूषण यादव, छाला तथा स्त्रीरोग विशेषज्ञ डा. स्मिता झा, ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा. मिराज आलम, बाल रोग विशेषज्ञ डा. अन्जली चौरसिया, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रुची चौरसिया तथा आदित्य तिवारीलगायतको टोलीले बिरामीहरूको परीक्षण गरी आवश्यक सुझाव दिएका थिए।

शिविरमा न्युरो, हाडजोर्नी, छाला, महिला तथा प्रसूति, बालरोग लगायत विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको थियो। स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको शिविरबाट सयौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएको आयोजकले जनाएको छ। धेरैजसो सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच तथा परामर्श पाउँदा खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा सहकारीका सभापति गोपाल सिंह कडेलको अध्यक्षता रहेको थियो भने अस्पतालका डाइरेक्टर सावित्रा भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी दुर्गा न्यौपाने विशिष्ट अतिथि, सहकारीका उपाध्यक्ष गणेश कलवार, सचिव कपिलदेव प्रसाद यादव, अस्पतालका वित्त प्रमुख दीपु राउत तथा प्रशासन प्रमुख विनोद पटेललगायत सञ्चारकर्मी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सहकारी संस्थाहरू केवल आर्थिक कारोबारमा सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिएका थिए। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहकारीले गरेको पहल प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो। अस्पतालका प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रममार्फत समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताए।

आयोजक संस्थाका अनुसार निकट भविष्यमा सहकारीका ग्राहक तथा कर्मचारीहरूको स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले एल.एस. न्युरो एन्ड जेनरल होस्पिटल सँग औपचारिक सम्झौता गर्ने तयारी भइरहेको छ। यसले सहकारीसँग आबद्ध सदस्य तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

स्थापना दिवसको अवसरमा संस्थाले विगत २४ वर्षदेखि समाजमा पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। सहकारीका पदाधिकारीहरूले समुदायको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्ने अठोट व्यक्त गरेका छन्।

स्थानीय स्तरमा स्वास्थ्य सेवा पहुँच अभाव रहेको सन्दर्भमा आयोजना गरिएको यो शिविरले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सहकारी र स्वास्थ्य संस्थाबीचको सहकार्यले भविष्यमा अझ प्रभावकारी सामाजिक अभियानहरू सञ्चालन हुने विश्वास लिइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once