Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
23.1 C
Kathmandu

खानेपानीको अभावमा तत्काल पहल, वीरगंजमा समाधानको तयारी : प्रदीप यादव

spot_img

वीरगंज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंजमा खानेपानीको समस्या देखिएपश्चात तत्काल प्रभावकारी पहल गरेको बताएका छन्।

वीरगंज–३० टेढा राम वनमा मंगलबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू सधैं जनताको माझमा रहेर काम गरेको स्मरण गराए।

उक्त अवसरमा यादवले बताए, “जुन समयमा वीरगंजमा खानेपानीको हाहाकार थियो, म संयोगले त्यतिबेला खानेपानी मन्त्री थिएँ। समस्या थाहा पाउँदा २४ घण्टाभित्रै मैले टोल–गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराएँ र घर–घरमा पानी खुवाउन व्यवस्था मिलाएँ।”

एमाले उम्मेदवार यादवले अहिले वीरगंजका कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको पनि स्पष्ट पार्दै, दीर्घकालीन समाधानका लागि मन्त्रालयमार्फत ४ सय ५० करोड रुपैयाँ बजेट वीरगंज महानगरपालिकामा पठाइएको र आयोजनाको टेन्डर निकालेर काम सुरु भइसकेको जानकारी दिए । उनले भने, “यो आयोजना तीन वर्षभित्र सम्पन्न हुन्छ। त्यसपछि वीरगंजमा कहिल्यै पनि खानेपानीको समस्या हुँदैन।”

त्यसैगरी कोरोनाको महामारीका बेला जनताको सुरक्षा र स्वास्थ्यका लागि आफूले आफ्नो ज्यान समेत जोखिममा राखेर काम गरेको स्मरण गर्दै यादवले संविधानको रक्षा र मधेसका अधिकार जोगाउन आफूले उम्मेदवारी दिएको बताए। उनले भने, “मधेसी, महिला, दलित र थारु समुदायका अधिकार सुरक्षित रहुन एमालेको जित आवश्यक छ। यदि हामीले जितेनौं भने मधेसका अधिकार संकटमा पर्न सक्छन्। त्यसैले मलाई जिताएर पठाउनुस्, म मधेसको अधिकार जोगाउनेछु।”

यादवले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै बाँकी रहेका मधेसका अधिकार सम्बोधन गर्न एमालेलाई जिताउनु आवश्यक रहेको बताए।

स्थानीय मतदातासँगको संवादमार्फत यादवले आफ्नो अनुभव, सेवा र अधिकार रक्षाप्रतिको प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा जनताको साथ मागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once