काठमाडौँ,१८ माघ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि डिजेल–मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम गरिएको छ। निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा परेका छन्। यस्तै, सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा राखिएका छन्। निगमको डिपोदेखि १५ किलोमिटरभित्रका क्षेत्रमा यी खुद्रा मूल्य लागू हुनेछन्।
यसैबीच, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको छ। मूल्य घटेसँगै आन्तरिक हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ कायम भएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४५ रुपैयाँ ४९ पैसा वृद्धि भएको छ भने हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।





