काठमाडौँ,१५ माघ । भारतले आसन्न निर्वाचनमा प्रयोजनका निम्ति थप साढे २०० भन्दा बढी सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बिहीबार (माघ १५) अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा भारतले निर्वाचनसँग सम्बन्धित सहयोगको दोस्रो किस्ता नेपाललाई प्रदान गरेको हो ।
नेपालका निम्ति भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरे ।
नेपाल सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्री माग गरेअनुसार उपलब्ध गराइएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।
उक्त कार्यक्रममा अर्थमन्त्री खनालले भारत र नेपालबीचको लामो समयदेखिको सहयोग र मैत्रीपूर्ण सम्बन्ध स्मरण गरे । भारत सरकारले निर्वाचनसँग सम्बन्धित सहयोगको पहिलो किस्ताअन्तर्गत यही माघ ६ गते ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो । आउँदा दिनमा थप सवारीसाधन उपलब्ध गराइने दूतावासले जनाएको छ ।
नेपाल सरकारको आग्रहमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ । आसन्न निर्वाचनका निम्ति उपहारस्वरूप करिब ६५० सवारीसाधन नेपाललाई उपलब्ध गराउने भारतले प्रतिबद्धता जनाएको थियो ।
भारतले यसअघि निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै दुई हजार र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० गरी कुल २४ सय सवारीसाधन उपलब्ध गराइसकेको छ ।





