डोल्पा,१४ माघ । हिमाली जिल्ला डोल्पामा बुधबार बिहानदेखि फेरि हिमपात सुरु भएको छ। माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको स्थानीयहरूले बताएका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका लगायत तल्लो डोल्पाको जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका तथा त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात भइरहेको छ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन्। दैनिक कामकाज, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई तथा सडक यातायातमा समस्या देखिएको छ। त्रिपुरासुन्दरी–१ का स्थानीय बासिन्दा जुनबहादुर सार्कीले बताए अनुसार “हिमपात र वर्षाका कारण दैनिक जनजीवन प्रभावित भएको छ। सडक र हवाई मार्ग अवरुद्ध हुने क्रम बढेको छ।”
यद्यपि यो सिजनको दोश्रो पटकको वर्षा र हिमपातले गहुँ, जौ लगायत हिउँदे बालीका लागि फाइदा पुर्याउने भएकाले किसानहरूले राहत महसुस गरिरहेका छन्। बालीमा पर्याप्त पानी पर्न थालेको र उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार डोल्पा जस्ता हिमाली जिल्लामा हिमपात र वर्षा कृषकका लागि जीवनदायिनी हुने हुँदा, जनजीवनमा असुविधा भए पनि यसले समग्र कृषिमा सकारात्मक प्रभाव पार्ने सम्भावना छ।





