बारा,१४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आमा र छोराको हत्या गरेको छ भने सोही परिवारका अन्य तीन जना गम्भीर घाइते भएका छन्।
घटनामा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको टाउको काटेर हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार माघ १४ गते बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिहरूले घरभित्र प्रवेश गरी धारिलो हतियार प्रयोग गर्दै उनीहरूमाथि आक्रमण गरेका थिए। आक्रमणका क्रममा आमा–छोराको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा मण्डल परिवारकै अन्य तीन जना सदस्य पनि घाइते भएका छन्। घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न नसकेको बारा प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलको सूक्ष्म अनुसन्धान, सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाएको छ।





