Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

रौतहटमा सुरु भयो ग्रामीण काठ फर्निचर मेला, व्यवसायी र उपभोक्ता आकर्षित

spot_img

जयनगर (रौतहट), ११ माघ । प्रत्येक वर्षझैँ यस वर्ष पनि रौतहट जिल्लामा देशकै सम्भवतः सबैभन्दा ठूलो ग्रामीण काठ फर्निचर मेला शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। श्रीपञ्चमीको पावन अवसर पारेर नेपाल विश्वकर्मा बजार समिति, जयनगरको आयोजनामा गरुडा नगरपालिका–१, जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल फर्निचर मेला सञ्चालनमा आएको हो।

नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्माका अनुसार, २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष विस्तार हुँदै गइरहेको छ। ग्रामीण क्षेत्रमा लाग्ने मेलाको आकार, व्यापार र सहभागिताका हिसाबले यो देशकै ठूलो ग्रामीण फर्निचर मेलाको रूपमा परिचित छ।

मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ। यहाँ पलङ्ग, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोगका सबै प्रकारका काठका फर्निचर उपलब्ध छन्। साथै फलामका कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री पनि बिक्रीका लागि राखिएका छन्।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा लगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन्। नेपालका विभिन्न स्थानका व्यापारीसँगै भारतको बिहार प्रान्तबाट उपभोक्ता तथा व्यापारीहरू समेत फर्निचर खरिदका लागि पुगेका छन्।

व्यवसायीहरूले जानकारी दिएका अनुसार जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तो मूल्यमा फर्निचर उपलब्ध हुन्छ। आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनीहरूको भनाइ छ। यही कारणले विवाहका लागि दाइजोको सामान खरिद गर्ने र सस्तो तथा गुणस्तरीय फर्निचर खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ।

मेलामा बिक्रीका लागि विश्वकर्मा लोहार समुदायले २–३ महिना अघिदेखि नै फर्निचर निर्माण शुरु गर्ने गर्दछन्। दिनरात मेहनत गरेर बनाइएका सामग्री मेलामा बिक्री गरेर उनीहरूले राम्रो आम्दानी पनि गर्दै आएका छन्। मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर लगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सहरहरूमा फर्निचर ढुवानी भइरहेको छ।

यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बनेको छ। हरेक वर्ष मेलाको विस्तारसँगै कारोबार बढ्दै गएको हुँदा आगामी दिनमा यसलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने तयारी भइरहेको समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once