Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

पर्सा निर्वाचनमा जसपाको कमजोर उपस्थिति, क्षेत्र–४ मात्र प्रतिस्पर्धामा

spot_img

वीरगंज,११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल कमजोर देखिएको छ । विगत निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको जसपा यसपटक अपेक्षित बलियो उपस्थिति देखाउन असफल भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

२०७४ सालको निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको जसपाले २०७९ सालको निर्वाचनमा भने एउटा क्षेत्रमा मात्र जित निकालेको थियो । यसपटकको निर्वाचनमा भने पर्साका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरे पनि क्षेत्र नं. ४ बाहेक अन्य क्षेत्रमा पार्टीका उम्मेदवार प्रतिस्पर्धात्मक अवस्थामा नदेखिएको विश्लेषण गरिएको छ ।

पर्सासहित मधेश प्रदेशमै प्रभावशाली मानिँदै आएको उपेन्द्र यादव नेतृत्वको जसपा, जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढाव तथा महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगको एकतापछि पनि संगठनात्मक रूपमा मजबुत बन्न नसकेको देखिएको छ ।

जसपाले पर्सा क्षेत्र नं. १ मा जिल्ला अध्यक्ष रामनरेश यादव, क्षेत्र नं. २ मा उद्योगी अशोक टेमानी, क्षेत्र नं. ३ मा नागेन्द्र प्रसाद यादव र क्षेत्र नं. ४ मा डा. कृपासिन्धु प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । तर क्षेत्र नं. ४ बाहेक अन्य क्षेत्रमा उम्मेदवारहरूको प्रभाव कमजोर देखिएको छ ।

पर्सा क्षेत्र नं. १ मा जसपा नेपालबाट निर्वाचित पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टी परित्याग गरेपछि जसपाको संगठन कमजोर बनेको छ । यसपटक प्रदीप यादव एमालेका उम्मेदवार बनेकाले पनि पार्टीको प्रभाव घटेको विश्लेषण गरिएको छ ।

त्यस्तै, क्षेत्र नं. २ मा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको र उनको राजनीतिक प्रभाव तथा संगठनात्मक आधार कमजोर रहेकाले जसपाको स्थिति कमजोर देखिएको हो ।

क्षेत्र नं. ३ मा योग्य उम्मेदवार नपाएपछि स्थानीय नेतालाई उम्मेदवार बनाउनु परेको स्रोतले जनाएको छ । साथै यस क्षेत्रअन्तर्गतका कुनै पनि पालिकामा जसपाले निर्वाचन जित्न नसकेको विगतले पनि पार्टीलाई कमजोर बनाएको छ ।

तर क्षेत्र नं. ४ मा भने जसपा अपेक्षाकृत बलियो देखिएको छ । कांग्रेसबाट डा. कृपासिन्धु प्रसाद चौधरीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको जसपाले यस क्षेत्रअन्तर्गत दुई वटा पालिकाका प्रमुख र एक जना प्रदेशसभा सदस्य निर्वाचित जनप्रतिनिधि रहेको कारण संगठनात्मक रूपमा बलियो रहेको बताइएको छ ।

कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू पहिल्यै ‘टेस्टेड’ भइसकेको अवस्थामा डा. चौधरी नयाँ र स्वीकार्य अनुहारका रूपमा देखिएकाले यस क्षेत्रमा जसपाको प्रतिस्पर्धात्मक स्थिति बलियो मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once