काठमाडौं,१८ पुस । आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा ६० प्रतिशत दक्ष जनशक्ति रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार दक्ष जनशक्तिमा ५ लाख ६ हजार ८२७ जना रहेका छन्, जसमा ४ लाख ४७ हजार ७३ पुरुष र ५९ हजार ७५४ महिला श्रमिक रहेका छन्।
उच्चसीपयुक्त श्रमिकको संख्या ९३७ रहेको छ, जुन कुल वैदेशिक श्रमिकको ०.१ प्रतिशत हो। यसमा ६९२ पुरुष र २४५ महिला रहेका छन्। साथै, ४ हजार ३७२ जना विभिन्न पेशामा कार्यरत व्यक्ति विदेशिएका छन्, जुन कुल श्रमिकको ०.५ प्रतिशत हो। पुरुष श्रमिकको संख्या ३ हजार ७४९ र महिला ६२३ रहेको छ।
अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७२३ रहेको छ, जुन कुल श्रमिकको ११.९ प्रतिशत हो। यसमा ९० हजार ६३६ पुरुष र ९ हजार ८७ महिला रहेका छन्।
अदक्ष श्रमिक विदेशिएका २ लाख २७ हजार ४०७ जना छन्, जुन कुल वैदेशिक श्रमिकको २७.१ प्रतिशत हो। पुरुषको संख्या २ लाख २ हजार ६६१ र महिला २४ हजार ७४६ रहेको तथ्यांकमा उल्लेख छ।
प्रदेशगत विवरण अनुसार, गत वर्ष कोशी प्रदेशबाट १ लाख ७७ हजार ६५९, मधेश प्रदेशबाट १ लाख ९३ हजार ९०२, बागमती प्रदेशबाट १ लाख ३७ हजार ६००, गण्डकी प्रदेशबाट १ लाख १३ हजार ६८२, लुम्बिनी प्रदेशबाट १ लाख ५० हजार १११, कर्णाली प्रदेशबाट २८ हजार ५८ र सुदूरपश्चिम प्रदेशबाट ३८ हजार २५४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
प्रतिवेदनले नेपालबाट विदेशिने श्रमिकमध्ये दक्ष जनशक्तिको उच्च अनुपातले वैदेशिक रोजगारीमा अनुभव र दक्षताको स्तर बढिरहेको देखाएको छ।








