रसुवा,१८ पुस । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक र डिब्बाको आवतजावत सुरु भएको छ।
ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको दोस्रो दिन बिहीबार २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय टिमुरे भन्सार कार्यालयका अनुसार बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको पहिलो मालवाहक डिब्बा नेपाल भित्रिएको जानकारी दिइएको थियो। दिनभरमा ३७ वटा ट्रक र डिब्बा नवनिर्मित बेलीब्रिज हुँदै नेपाल भित्रिएका छन्।
भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार बिहीबार स्याउ बोकेको आठ, ओखर बोकेको १०, जलविद्युत् सामग्री बोकेको छ र रेडिमेट सामग्री बोकेको १३ वटा ट्रक तथा डिब्बा नेपाल भित्रिएका छन्।
रसुवागढी नाकाबाट २३ किलोमिटर उत्तरमा रहेको केरुङबाट अघिल्लो समयमा पनि दैनिक सरदर २० वटा ट्रक तथा डिब्बा नेपाल भित्रिन्थ्यो। चीनको ‘गोन्झाओ’ र ‘इयु’ क्षेत्रबाट करिब ५ हजार किलोमिटरको दूरी पार गरेर समान नेपाल ल्याइन्छ। यसैगरी, तिब्बतको ल्हासा र सिँगत्से हुँदै पनि केही सामान नेपालतर्फ ढुवानी हुने गरेको छ।
गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित पक्की पुल बगाएपछि दुईतर्फी आवतजावत ठप्प भएको थियो। बेलीब्रिज सञ्चालनमा आएसँगै ट्रक र डिब्बा गुड्न थालेका छन्। नियमित ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक र डिब्बा छ महिनापछि नेपालतर्फ आउन सुरु भएको भन्सार कार्यालयले जनाएको छ। बिहीबार रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा केरुङतर्फ फर्किएको पनि जानकारी दिइएको छ।
रसुवागढी नाका काठमाडौँबाट पृथ्वीराजमार्गको गल्छी हुँदै १४८ किलोमिटरमा रहेको छ। लामो समयदेखि सो अन्तर्राष्ट्रिय नाका अवरुद्ध हुँदा चिनियाँ सामग्री नेपाल ल्याउन कठिन भएको थियो।
बेलीब्रिज सञ्चालनपछि स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल बढेको रसुवास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए। मालवाहक ट्रक तथा डिब्बा चालकहरूले सडक मर्मतसम्भारमा ध्यान दिन सरकारसँग अनुरोध गर्दै, अब स्तरोन्नतिको कामलाई प्राथमिकता दिन माग गरेका छन्।





